लकडाउनको एक महिना: उपयुक्त समयमा निर्णय, साझा सहकार्यले सफल

0
Shares

विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गत महिना चैत ११ गतेका दिन अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो ।

उक्त आदेशको आज ठिक ३२ दिन पुगेको छ। अझै तीन दिन लकडाउन जारी रहने छ । यो बीचमा सरकारले तीन पटक समय थप गरिसकेको छ । अवस्था हेरेर आगामी दिनमा लक डाउन लम्ब्याउने या हटाउने सरकारले उपयुक्त निर्णय लिने नै छ । तर लकडाउनको एक महिनाको अवधीलाई मूल्याङ्कन गर्दा उपयुक्त समयमा उपयुक्त कदम चालिएकाले असामान्य अवस्था सिर्जना हुन पाएन । छिमेकी मुलुकलाई नियाल्दा अत्यन्त न्यून सङ्ख्यामा मात्रै कोभिड–१९ को सङ्क्रमणबाट नेपाली प्रभावित भए । तर अझै जोखिम भने कायमै छ ।

एक महिनाको यो अवधीलाई सरकारले समेत उपयुक्त समयमा गरिएको उपयुक्त कदमको रुपमा विष्लेषण गरेको छ ।

सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाका अनुसार नेपाल सरकारले समयमै महत्वपूर्ण निर्णय गर्दा सङ्क्रमितको सङ्ख्या सिमित हुन पुगेको हो । मन्त्री खतिवडासँग सिंहदरबारमा बिहीबार राससले सरकारको एक महिनाको समीक्षा कस्तो रहयो भनेर राखेको जिज्ञासामा मन्त्री खतिवडाले भने, “यो अवधिमा कसैको पनि मृत्यु हुन पाएन, सङ्क्रमित ४७ मध्ये सात जना त निको भएर नै फर्किसकेका छन्, जुनबेला अन्तरराष्ट्रिय उडान बन्द गरियो, त्यो सरकारको साहसिक निर्णय थियो, त्यसैले सङ्क्रमण रोक्न सफल भएको हो ।”

नेपालले हवाई उडान बन्द गर्दा धेरै मुलुकमा चालु नै थियो । सरकारले अन्तरराष्ट्रिय विमानस्थलमा आएका व्यक्तिलाई फर्काउनु परेको थियो । “त्यतीबेला हेर्दा सरकार अली निर्दयी रहेछ की भन्ने तपाईले पनि ठान्नुभयो होला तर त्यहीँ आएका व्यक्ति सङ्क्रमित रहेछन् भन्ने कुरा त पछि देखियो नी”, अबस्थाको विश्लेषण गर्दै प्रवक्ता डा. खतिवडाले भने।

दक्षिणी नाकाको विषयमा पनि भारत सरकारसँग कुराकानी भएर नै आवश्यक कदम चालिएको थियो । दक्षिणी सीमा रोक्न हुने या नहुने कुरा बहसमै थियो । यद्यपि सरकारले एउटा महत्वपूर्ण निर्णय गर्यो, जुन निर्णयले सीमापारीबाट हुने कोरोनाको सङ्क्रमण रोक्न सफल भएको मन्त्री डा. खतिवडाको भनाइ छ ।

उनका अनुसार अन्तरराष्ट्रिय सीमाको आवागमन स्थगन भन्ने कुरा सामान्य थिएन । केही पर्खौँ भन्ने कुरा पनि थियो तर नागरिकको जीवनलाई जोखिममा मोलेर आवागमन खुला गर्न सक्दैनौँ भनेर नै सरकारले निर्णय गरेको हो । त्यसपछि पनि नागरिकहरु आएर सीमामा बसिरहेको सन्दर्भ जोड्दै मन्त्री खतिवडाले विश्वासका साथ भने, “सीमामा आउनु भएकालाई खाने बस्ने काम दुवै देशका सरकारको समन्वयमा भइरहेकै छ, जुन कारणले पारीबाट हुने सङ्क्रमणलाई न्यूनिकरण गर्न हामी सफल भएका हौँ ।”

लकडाउनको समयमा दोस्रो महत्वपूर्ण विषय आपूर्तिको रहेको उल्लेख गर्दै उहाँले आधारभूत वस्तु र सेवाको आपूर्ति सहज रहेको जानकारी दिए। शुरुमा कालोबजारी हुन्छ, मुल्य बढ्छ, हाहाकार हुन्छ, अस्थिरता हुन्छ भन्ने भए पनि पछिल्लो समयमा सहज पारिएको उहाँले बताउनुभयो । अलिकति किन्न जानेलाई सबै पसल नखुल्दा केही समस्या कायमै छ ।

सरकारले लकडाउनका बेलामा पनि ढुवानीलाई निरन्तरता दिएको छ । अलीकति बढी आपूर्ति समस्या काठमाडौँमा शुरुमा भएको थियो । मुलुकमा जति खपत हुन्छ त्यसको एक तिहाई काठमाडौँले खपत गर्ने भएकाले पनि समस्या भएको थियो । अहिले त्यो समस्यासमेत हटेको छ । काठमाडौँ केन्द्रीत आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको र समस्या भए खबर गर्न सरकारले सार्वजनिक अपिल गरिरहे कै छ ।

अत्यावश्यक सामानको आपूर्तिका विषयमा मन्त्री खतिवडाले थपे “पेट्रोलियम पदार्थ खपत् नभएकाले पनि आपूर्तिमा समस्या छैन, स्टक फुल छ, विद्युतमा समस्या छैन, औषधीमा शुरुका दिनमा केही तनाव भएकोमा अहिले हल भइसकेको छ ।”

औषधि उपकरणको पनि शुरुमा खासगरी टेष्टकिट विश्वव्यापी रुपमा समस्या भएकाले अभाव भएको उनले बताए। पछिल्लो चरणमा त्यसको खरिद व्यवस्था भइसकेको, अनुदानमा आउने तथा नेपाली सेनाले जिटुजीमा खरिद गरेर ल्याउने र निजी क्षेत्रले ल्याउने उपकरण पनि प्रसस्त आइसकेको छ । सरकारले चार महिनालाई पुग्ने औषधि स्टक रहेको र आवश्यक उत्पादनसमेत भइरहेको जनाएको छ ।

सरकार मात्रै होइन आम नागरिक र सबैले लकडाउन हाम्रै लागि हो, अनुशासन र मर्यादामा बस्नुपर्छ र हामी आफैँ सुरक्षामा बस्नुपर्छ भन्ने जुन धारणाले नेपालमा काम गर्यो ।

“त्यसमा सरकारले जुन निर्णय गर्यो, सरकार र नागरिक, प्रेस तथा राजनीतिक दल, संघसंस्था सबै क्षेत्रबाट सहयोग भयो, त्यस कारणले कोरोनालाई निश्चित सीमा भित्र राख्न सकिएको हो, यो सहयोग र सहकार्य नियमित हुनसक्यो भने सङ्क्रमणबाट हुने जोखिमबाट हामी बच्न सक्छौँ”, मन्त्री डा. खतिवडाको भने।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  ०७ : १० बजे