भन्सार कार्यालयमा सुरक्षा सतर्कता

0
Shares

रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाइएको छ ।

भारतबाट आउने मालवाहक कन्टेनरलाई भन्सार गेटमै स्यानिटाइजर छर्किने वयवस्था गरिएको छ । बन्दाबन्दीका कारण मानिसको आवतजावतमा रोक लगाइए पनि ढुवानी दैनिक हुने गरेपछि स्वास्थ्य सुरक्षाका लागि स्यानिटाइजर छर्किने काम गरिएको कार्यालयले जनाएको छ ।

दैनिक एक सयकोे हाराहारीमा भारतीय कन्टेनर भन्सार कार्यालय हुँदै नेपाल आउने गरेका छन् । जसका कारण सीमा क्षेत्रका बासिन्दाले कोभिड–१९ का भाइरस आउन सक्ने गुनासो गरेपछि भन्सार कार्यालयले स्यानिटाइजर स्प्रे शुरु गरेको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ।

कार्यालय प्रमुख कमलकुमार भट्टराईले भन्सारले भारतीय कन्टेनर चलाएर आउने चालक तथा चालक बस्ने क्याबिनमा समेत डिटोल स्यानिटाइजर छर्कने गरिएको जानकारी दिए।

“भारतीय चालकलाई स्वास्थ्यकर्मीले जाँच गर्छन, जाँचपछि कन्टेनर र चालकलाई पूरा स्प्रे गरेर भन्सार गेटभित्र अनुमति दिने गरिएको छ”, भन्सारका अधिकृत गोपाल शर्माले भने। बन्दाबन्दीपछि भारतीय बजारबाट खाद्यान्न, तरकारी, फलफूल, डिजल, पेट्रोल, ग्यासलगायतका सामान बोकेका कन्टेनर दैनिक आउने गरेका छन् ।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  २० : १७ बजे