राहतमा हातपात,वितरणमा राजनीति र भ्रष्टाचार भएको गुनासो बढ्दै

0
Shares

लकडाउनको अवधि लम्बिँदै एक महिना नाघेको छ । कोराना महामारी नियन्त्रणका लागि घोषित लकडाउन लम्बिँदै गएपछि समस्यामा परेकाहरुका लागि प्रदेश नं २ सरकारले ६ दिन अघि दोस्रो चरणको राहत प्याकेजको घोषणा समेत गरेको छ ।

यता लक्षित परिवारको घरमा राहत पुग्न नसक्दा दैनिक ज्याला मजदूरी गर्न नपाएका गरिब, विपन्न भोकै परेका छन् । प्रदेश २ सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरे पनि सप्तरीमा कतिपय स्थानीय तहले अझै पहिलो चरणको राहत वितरण गर्न सकेका छैनन् । राहत वितरण भएका स्थानीय तहमा पनि तीव्र विवाद देखिएको छ ।

जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले आ–आफ्ना नजिकका मतदाताको नामावली छनोट गर्नाले जीवन जोखिममा परेकाको नाम छुटेको भन्दै विवाद बढेको हो । महामारीका बेलामा राहत बाँड्न सक्ने क्षमता भएकाले नै राहतमा लोभ गर्दा गरिब, विपन्न राहत पाउनबाट वञ्चित भएका छन् । राहत वितरणमा राजनीति र भ्रष्टाचार भएको गुनासो बढ्दै गएपछि स्थानीय तहहरुमा तीव्र विवाद देखिएको छ ।

राहतका विषयमा कतै वडा कार्यालय र जनप्रतिनिधि घेराउमा परेका छन् त कतै तालाबन्दी र राहत बहिष्कार भएको छ । कञ्चनरुप नगरपालिकामा जनप्रतिनिधि माथि हातपात भएको छ भने राहतका विषयमा डाकनेश्वरी नगरपालिकामा दोहोरो झडपको घटना भएको छ ।

डाकनेश्वरी नगरपालिका–८ मा गए राति वडाध्यक्ष उमेशकुमार यादव पक्ष र असन्तुष्ट पक्षबीच दोहोरो झडप हुँदा दुवै पक्षका सात जना घाइते भएका छन् । घाइते हुनेमा वडाध्यक्ष पक्षका रञ्जित मण्डल, रामप्रसाद मण्डल र गजेन्द्र यादव छन् । अर्को पक्षमा यानचन मण्डल, उहाँकी दिदी रामवतीदेवी मण्डल, लालदेव मण्डल र निजकी श्रीमति रतनीदेवी मण्डल छन् ।

गम्भीर घाइते रञ्जितको राजविराजमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । उन्को आइसियुमा राखेर उपचार भइरहेको छ । अन्य घाइते रामप्रसाद, गजेन्द्र, यानचन र रामवतीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । घाइते लालदेव र रतनीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको छ ।

राहत वितरण गर्न केही युवासहित सोमबार वडा कार्यालय पुगेका वडा अध्यक्ष उमेशकुमार यादव र सामाजिक परिचालक शिवशङ्कर मेहतासहितलाई असन्तुष्ट २०० बढी गाउँलले हातपात र ढुङ्गामुढा गर्दै भगाएका थिए । एकतर्फीरुपमा राहत पाउनेको नामावली सङ्कलन गरेको आरोप लगाउँदै नेकपा, नेपाली काँग्रेस, राजपा नेपालका कार्यकर्ताले राहत सामग्री राखेको कोठामा आ–आफ्नो ताला लगाएपछि राहत वितरण कार्य स्थगित भएको छ ।

सोही विषयमा गए राति आफ्नो घरमा पुगेर वडाध्यक्ष पक्षधरले कुटपिट गर्दै घाइते बनाएपछि आक्रोशित गाउँलेले लखेटेको घाइते यानचनले बताउ। राहत वितरणमा अनियमितता भएको भन्दै विरोधमा उत्रिएका यानचनको घरमा मादकपदार्थ खाएर पुगेका युवाले आक्रमण गरेपछि दुई पक्षबीच दोहोरो झडप भएको स्थानीय विनोद यादवले बताए।

काँग्रेसबाट निर्वाचित वडासदस्य मानविर रजकले वडाध्यक्ष यादवले बहुमतका आधारमा अन्य राजनीतिक दलका प्रतिनिधिलाई बेवास्ता गर्दै लाठीकै बलमा राहत वितरण गर्न खोज्दा विवाद बढेको आरोप लगाए। गरिब, विपन्नको साटो धनी सम्पन्नलाई राहत वितरण गर्न खोजेपछि बढेको विवाद झडपमा परिणत भएको रजकको भनाइ छ ।

वडाध्यक्षसहित अन्य तीन वडासदस्य सङ्घीय समाजवादी फोरमबाट निर्वाचित हुन् । फोरमकै गाउँ कमिटी अध्यक्ष उदयकान्त यादवले समेत वडा अध्यक्षको कार्यशैलीको तिब्र विरोध गरे।

राजनीतिक दलको आधिकारिक प्रतिनिधि नराखी एकतर्फीरुपमा मनमानी तरिकाले राहत बाँड्न खोज्दा समर्थक मतदातासमेत विरोधी बनेको उनले बताए। सो वडामा २६७ परिवारलाई राहत वितरण गर्न छनोट गरिएको थियो । यसअघि कञ्चनरुप नगरपालिका–८ मा राहत वितरणपछि राहत नपाएको भन्दै वीरेन्द्र सरदार र सुरेश सरदारको समूहले वडासदस्य सञ्जय पासवानमाथि आक्रमण गरेर घाइते बनाएका थिए ।

कोरोना र लकडाउनबाट प्रभावितलाई राहत वितरण गरेर आइतबार साँझ घर फर्किने क्रममा वडासदस्य पासवान र उनका भाइ अजयलाई सोही ठाउँका सरदार दाजुभाइले कुटपिट गरेर घाइते बनाएका थिए ।

टाउकोमा चारवटा टाँका लागेका वडासदस्य संजय र उनका भाइ अजयको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाना उपचार भयो भने आक्रमणकारी सरदार दाजुभाइलाई पक्राउ गरी कारवाही थालिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए। राहत पाउनेको नामावलीमा आफ्नो परिवारका सदस्यको नाम छुटाएको भन्दै सरदार दाजुभाइले राहत वितरण भइरहेकै बेला वडा कार्यालयमै पनि झगडा गरेका थिए ।

कोभिड–१९ बाट प्रभावितलाई राहत दिने भनिए पनि सप्तरीका अधिकांश स्थानीय तहमा शिक्षक, कर्मचारी, व्यापारी र धनी किसानले समेत राहत लिएको आरोप लागेको छ । राहत वितरण निर्देशिका २०७६ विपरीत राहत वितरण भएको भन्दै शम्भुनाथ नगरपालिकाका मुसहर समुदायले राहत वितरणस्थल पुगेर राहत फिर्ता गरे ।

शम्भुनाथ नगरपालिका–७ मा पूर्वसरकारी कर्मचारी र औषधि पसलेजस्ता हुनेखाने तथा धनी किसानलाई समेत राहत दिएर गरिबको भाग खोसेको भन्दै शम्भुनाथका मुसहर समुदायले राहत वितरणस्थल पुगेर राहत बहिष्कार गरेका हुन् । सो वडामा एक हजार ७५ घरधुरीलाई राहत वितरण गरिएको छ ।

कञ्चनरूप–४ मा सबैलाई राहत दिनुपर्ने भन्दै महिलाले वडा कार्यालय घेराउ गरे भने विष्णुपुर गाउँपालिका ६ मा राहत वितरणको चर्चा सुने पनि अन्नको गेडो देख्न नपाएको दलितहरुले गुनासो गरेका छन् ।

खडक नगरपालिका–१ मा वडाध्यक्ष सिंघेश्वर मण्डलसहितका जनप्रतिनिधिले सर्वदलीयरूपमा तथ्याङ्क सङ्कलन नगरी आफ्ना आसेपासे र कर्मचारीलाई समेत राहत वितरण गरेको पूर्वगाविस अध्यक्ष वृजनारायण साहले आरोप लगाए।

हनुमाननगर कङ्कालिनी–१ का आकाशराज भण्डारीले राहत नपाउनुपर्ने धनी व्यक्तिको नाम राहत पाउने सूचीमा समावेश गरिएकोमा दुःख व्यक्त गरे। रुपनी गाउँपालिका वडा नम्बर १, ४ र ५ मा वितरण गरिएको चामल सम्झौता विपरस्त गुणस्तरहीन भएको भन्दै तीव्र विरोध भएपछि अन्य वडामा राहत वितरण स्थगित भएको छ ।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  २१ : १२ बजे