सुरक्षित उत्पादन र बजार व्यवस्थापनको ग्यारेण्टी सहित किसानलाई राहत

0
Shares

नेपाल किसान सङ्घले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएको लकडाउनपछि मुलुकभरका किसानले ठूलो नोक्सानी व्योहोर्नुुपरेको उल्लेख गर्दै उनीहरुलाई राहत कार्यक्रम घोषणा गर्न सरकारसँग आग्रह गरेको छ ।

सङ्घका सभापति भानुभक्त सिग्देलले आज एक वक्तव्यमार्फत लकडाउनका कारण दिनभरी मजदुरी गरी जीवनयापन गर्ने कृषि श्रमिकलाई समस्या परेको, उत्पादनमा संलग्न किसानले आफ्नो उत्पादन बजारमा पु¥याउन नपाएर नष्ट गर्नुपरेको र कृषिजन्य कच्चा पदार्थमा आधारित कृषि उद्यमी संकटमा परेको उल्लेख गरे।

सरकारसँग श्रमिक किसानलाई गाँसबासको व्यवस्थापनसाथै सबै खाले किसानको नोक्सानको क्षतिपूर्ति दिने र आगामी दिनमा यस्तो क्षति हुन नदिन सुरक्षित उत्पादन र बजार व्यवस्थापनको ग्यारेण्टी गर्ने प्रकारको राहतका कार्यक्रम घोषणा गर्न सङ्घले अपिल गरेको छ।

उत्पादनमा लागेका किसान मल बीउ जस्ता अति आवश्यक सामग्रीको अभावमा नयाँ उत्पादनमा लाग्न नपाएको बताउँदै अध्यक्ष सिग्देलले यसले मुलुकको समग्र अर्थव्यवस्थामा दुरगामी असर पर्ने उल्लेख गरे।

सङ्घले कोरोना रोकथामका लागि लकडाउन लागु गरेर मात्र जनताप्रतिको सबै कर्तव्य पूरा नहुने भन्दै सरकारलाई किसानका समस्याप्रति गम्भीर हुन आग्रह गरेको छ ।

प्रकाशित मिति: १५ वैशाख २०७७, सोमबार  १९ : ५० बजे