महिला सहयात्रा वित्तीय संस्थालाई अन्तर्राष्ट्रिय अवार्ड

0
Shares

 

काठमाडौँ : महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ‘राजकुमारी सर्विका विन्त इब्राहिम अल खालिफा ग्लोबल अवार्ड’बाट सम्मानित भएको छ । 

विभिन्न मुलुकका एक हजार ८८७ संस्थाले प्रतिस्पर्धा गरेकामा महिला सहयात्राले एक लाख अमेरिकी डलरको सो अवार्ड प्राप्त गरेको हो । उक्त संस्थाले देशका १७ जिल्लाका दुर्गम र पिछडिएका क्षेत्रका २८ हजार महिलालाई लघुवित्त सेवा पु¥याइ लघुउद्यमको विकासमा योगदान गरेबापत उक्त अवार्ड प्रदान गरिएको हो । बहराइनकी राजकुमारीले उक्त सम्मानका लागि खर्च व्यवस्थापन गर्नुभएको बताइएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत डा सुमित्रा मानन्धर गुरुङले गत फागुन २७ गते संयुक्त राष्ट्रसङ्घमा महिलाको अवस्थासम्बन्धी ६३औँ महासभामा सम्मान आफूले ग्रहण गरेको जानकारी दिनुभयो ।

विसं २०६९ मङ्सिर १४ मा स्थापना भएको उक्त संस्थाले हाल २६ शाखा विस्तार गरेकामा २१ शाखा कार्यालय अति विकट जिल्लामा समुदायको आर्थिक तथा सामाजिक विकास कार्यमा सक्रिय छन् । संस्थाले रु सात करोड ७० लाखको चुक्ता पूँजीबाट कारोवार शुरु गरेकामा हाल सर्वसाधारणका लागि रु तीन करोड ३० लाख शेयर जारी गर्नाका साथै करीब रु एक करोड नाफा गरी रु १२ करोड पूँजी पु¥याएको छ ।