खाद्यको संस्थानको टेकुको १५ रोपनी जग्गा नेपाल प्रहरीलाई दिइने


नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल खाद्य संस्थानको नाममा रहेको जग्गा नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही जेठ १०, १३ र १५ गते बसेको बैठकको निर्णयका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् ।

साविकको नेपाल खाद्य संस्थानको नाममा रहेको काठमाडौं महानगरपालिका–११ मा रहेको कित्ता नं २३९७ को ६२ रोपनी जग्गामध्ये २०७४ भदौ १९ मा भएको निर्णय अनुसार ३२ रोपनी जग्गामध्ये १५ रोपनी जग्गा महानगरीय प्रहरी परिसर काठमाडौँलाई उपलब्ध गराइने निर्णय भएको हो ।

सो जग्गा प्रतिआना ५० लाखको दरले एक अर्ब २० करोड रजिष्टे«शन पास गर्न लाग्ने रकम अर्थमन्त्रालयले गृहमन्त्रालयलाई निकासा दिने भएको छ । यसैगरि नेशनल ट्रेडिङ्ग लिमिटेडको स्वामित्व (हाल आयल निगम)मा रहेको टेकुस्थित महानगरिय प्रहरी परिसर र अपराध महाशाखा काठमाडौंको कार्य सञ्चालन भईरहेको भवन तथा सो वरिपरिको जग्गामध्ये ९ रोपनी जग्गा नेपाल प्रहरीको अपराध महाशाखाको नाममा रजिष्टे«शन पास गर्ने निर्णय समेत गरेको छ ।

२०७२ सालको विनासकारी भूकम्पले हनुमानढोकामा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको दुवै कार्यालय भवन क्षतिग्रस्त भएसँगै टेकुस्थित नेशनल साल्ट ट्रेडिङको जग्गामा सारिएका थियो। अहिले पनि सो स्थानबाटै प्रहरीले सेवा दिँदै आइरहेको छ।