अप्रमाणित औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

0
Shares

कुनै पनि प्रमाणित नभएका औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

माडागास्करका राष्ट्रपति एन्ड्री रोजाइलिनाले कोरोना भाइरसका बिरामीको उपचारका लागि ‘हर्बल टनिक’ प्रयोग गर्न भनेपछि विश्व स्वास्थ्य संगठनले यस्तो बताएको हो । राष्ट्रप्रमुख रोजाइलिनाले कोभिड–अर्गानिक्सबाट पहिले नै दुईजना मानिस निको भइसकेको दाबी गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले एक विज्ञप्तिमा भनिएको छ– ‘अफ्रिकीहरू बाँकी विश्वका मानिसजस्तै परीक्षण गरी औषधि प्रयोग गर्न योग्य छन् उपचार परम्परागत र प्राकृतिक हो भने पनि यसको क्लिनिकल परीक्षण गरेर प्रभावकारिता र सुरक्षा स्थापित गर्न आवश्यक छ, यस्तै, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पनि मानिसलाई अप्रमाणित औषधि प्रयोग नगर्न चेतावनी दिएको छ ।

यसैबीच, अफ्रिकी युनियनले वनस्पतीय उपचारका लागि उत्पादनको सुरक्षा र दक्षताबारे मदागास्करसँग छलफल गरेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको चेतावनीका बीच पनि गिनी बिसाउ, तान्जानिया, इक्वटोरियल गिनी र लाइबेरियाजस्ता धेरै अफ्रिकी देशले कोभिड अर्ग्यानिक्स आयात गर्न खोजेका छन् । जसमा आर्टेमिसिया प्लान्ट समावेश गरिएको छ र यो विशेष गरेर मलेरियाको उपचारका लागि प्रयोग गरिन्छ । अप्रिलमा पत्रकार तथा कूटनीतिज्ञसँगको अनलाइन बैठकमा रोजाइलिनाले यस हर्बल टोनिकले सात दिनभित्र नतिजा दिने बताएका थिए ।

मलेरियाको उपचारका लागि आर्टेमिसिया सन् १९७० मा चीनबाट ल्याइएको थियो । हाल यो बोतलमा राखेर हर्बल टिको रूपमा बजारमा पाइन्छ ।