विशेष अवस्थामा लगानीकर्ताले ब्रोकरको सिफारिसमा बोर्डबाट पास पाउने

0
Shares

बैशाख ३० गतेदेखि खुला हुन लागेको शेयर कारोबारमा बोर्डले धितोपत्र बजारका लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा एक पटकको लागि सवारी पासको व्यवस्था गर्ने भएको छ। यसरी पास आवश्यक पर्ने लगानीकर्ताले ब्रोकरको सिफारिश सहित बोर्डमा समक्ष सम्पर्क राख्न सक्ने र बोर्डले आवश्यकता हेरि पास उपलब्ध गराउन लागेको हो।

बजार खुलाउनका लागि बोर्डले शुक्रबार गरेको १३ औं निर्णयमा सो उल्लेख रहेको छ। तर विशेष अवस्थामा के कस्तो अवस्था पर्दछन् भन्नेबारे भने निर्णयमा केही उल्लेख गरिएको छैन।

सरकारले २४ गते बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारी मार्फत् एक तिहाइ कर्मचारीबाट आवश्यक सेवा प्रवाह गर्ने निर्णय गरेसँगै बोर्डको शुक्रबार बजार सम्बद्ध पक्षहरुको छलफलको आधारमा बैशाख २८ गते आइतबारदेखि धितोपत्र बजार सम्बद्ध संस्थाको कार्यालय खुला गर्ने र ३० गते मंगलबारदेखि ११ बजेदेखि १ बजेसम्म दैनिक २ घण्टा कारोबार खुला गर्ने निर्णय गरेको छ।

बोर्डको शुक्रबारको बैठकले विभिन्न १४ वटा निर्णयहरु गर्दै सोही अनुरुप बजार खुला गर्ने तयारी गरेको हो। जसमा नेपाल धितोपत्र बोर्डले एक चौथाई सवारी साधनलाई पास उपलब्ध गराएर शेयर कारोबार सुचारु गराउने निर्णय गरेको हो।

यसरी कारोबारमा नेप्से इन्डेक्स २ प्रतिशत र शेयरमूल्यमा ३ प्रतिशत थपघट भएमका सर्किट लाग्ने व्यवस्था गरिएको छ भने धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रुपमा आईपीएस वा विद्युतीय भुक्तानी माध्यबाट गर्नुपर्ने र खरीदमा हाललाई प्रोत्साहित गर्ने आगामी साउनदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ।

यसैगरि मेरो शेयरको इडिआईएस मार्फत धितोपत्र राफसाफ गर्ने र असारसम्म नयाँ मेरोशेयर खोल्नेलाई निशुल्क सेवा दिने, ग्राहकबाट ब्रोकरहरुले अनिवार्य रुपमा मार्जिन लिने व्यवस्थालाई कडाइका साथ लागू गर्ने लगायतका रहेका छन्।

हेर्नुहास् यस्ता छन् बोर्डका १४ निर्णयहरु:-

1. धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा (विहान ११ बजेदेखि १ बजेसम्म) सञ्चालन गर्ने ।

2. प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने ।

3. धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा IPS वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा IPS वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावणदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने ।

4. लगानीकर्तालाई Mero Share खाता खोली सोही खाताबाट अनिवार्य रुपमा EDIS मार्फत राफसाफ गर्ने व्यवस्था गर्ने । २०७७ आषाढ मसान्तसम्म Mero Share को नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने।सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालय मार्फत राफसाफको व्यवस्था मिलाउने ।

5. धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने ।

6. नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने ।

7. २०७७ आषाढसम्म Online बाट कारोबार गर्ने लगानीकर्ताहरुसँग Password र User ID प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने व्यवस्था गर्ने । २०७७ श्रावणदेखि नियमानुसार तोकिएको शुल्क तिरेर मात्र ग्राहकले Password र User ID लिन सक्ने व्यवस्था गर्ने ।

8. सिडिएसको System बाट आउने Average Price लाई धितोपत्र दलालले Manual Entry गर्न नपर्ने व्यवस्था रहेको हुँदा सो अनुरुप कारोबार गर्ने व्यवस्था मिलाउने ।

9. लगानीकर्ताहरुको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा Help Desk को व्यवस्था गर्ने र सो को जानकारी दिने ।

10. NEPSE र CDSC ले आवश्यक Safety Protocol बनाई आफ्नो र धितोपत्र दलाल, निक्षेप सदस्य, मर्चेन्ट बैंकरले लागू गर्ने व्यवस्था गर्ने ।

11. NEPSE, CDSC, Merchant Bankers, DP, Broker को कार्यालय संचालन गर्दा नेपाल सरकारबाट निर्णय भएअनुसार कुल कर्मचारीको एक तिहाई कर्मचारीबाट आलोपालो गरी कार्यालय संचालन गर्ने ।

12. NEPSE, CDSC, Merchant Bankers, DP, Broker कार्यालयलाई सवारी साधनको लागि सवारी पासको आवश्यकता परेमा आफ्नो कार्यालयमा भएका सवारी साधनहरु मध्ये एक चौथाई सवारी साधनलाई मात्र बोर्डले सवारी पास उपलव्ध गराउने । सोको लागि सम्बन्धित कार्यालयको कार्यालय प्रमुखले सावरी साधनको नम्बर सहित पत्राचार गरी बोर्ड समक्ष अनुरोध गर्ने ।

13. धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा एकपटकको लागि सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिश सहित बोर्डमा समक्ष सम्पर्क राख्न सक्ने ।

14. NEPSE, CDSC, Merchant Bankers, DP, Broker को कार्यालय मिति २०७७।१।२८ गते आईतबार देखि संचालन गर्ने र धितोपत्रको दोस्रो बजार कारोबार मिति २०७७।१।३० गते मंगलबारबाट संचालन गर्ने ।