पौने ७ करोडको आईपिओमा साढे ६८ करोड रुपैयाँको आवेदन, बुधबार बाँडफाँड हुने

0
Shares

इन्फिनिटी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बुधबार बाँडफाँड गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार लघुवित्तले निष्काशन गरेको आईपिओमा झन्डै १२ गुणा आवेदन परेको छ ।

लघुवित्तले जेठ १३ देखि १६ गते बिहीबार सम्म ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।

जसमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ भने बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार ३ लाख ३२ हजार ९७५ आबेदनबाट ६८ लाख ४३ हजार कित्ता शेयर माग भएको हो । लघुवित्तको आईपिओमा ६८ करोड ४३ लाख रुपैयाँ बराबरको आबेदन परेको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको ६ करोड २९ लाख ९३ हजार रुपैयाँ बराबरको ६ लाख २९ हजार ९३० कित्ता शेयरको ११.८६ गुणा बढी हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार लघुवित्तको आईपिओ ६२ हजार ९९३ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ ।