सत्ताईस बाणिज्य बैंकको वर्ष दिनको नाफा एक अर्ब बढ्यो, कुनको कति ?

0
Shares

चालु आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा २७ वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक अर्ब ५ करोड ३३ लाख रुपैयाँले बढेको छ । बैंकहरुको नाफा २.३६ प्रतिशतले बढेको हो।

चालु आवको नौ महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुले ४५ अर्ब ६९ करोड ८८ लाख २७ हजार खुद नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक अर्ब ५३ लाख ३४ हजार बढी हो । गत वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको कुल नाफा ४४ अर्ब ६४ करोड ५४ लाख ८४ हजार थियो।

नौ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा गर्ने बैंकमा नबिल बैंक सबैभन्दा अगाडि छ। जसले ३ अर्ब १५ करोड ८६ लाख ८५ हजार खुद नाफा गरको छ । नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाए पनि गतवर्षको तुलनामा घटको छ । चैत्रसम्ममा सबैभन्दा कम नाफा कमाउने बैंकमा सिभिल बैंक छ । जसको नाफा ३६ करोड ५ लाख ३५ हजार मात्र छ ।

सबैभन्दा उच्चरुपमा नाफा बढाउने बैंकमा ग्लोबल आइएमई बैंक अग्रपक्तिमा छ । जनता बैंकलाई गाभेको बैंकको नाफा ६८.४७ प्रतिशतले बढेर ३ अर्ब १५ करोड ३९ लाख ४५ हजार कमाएको छ । जुन २७ वाणिज्य बैंकहरुमध्ये दोस्रो उच्च नाफा हो। सबैभन्दा कम नाफा बढेको एनसीसी बैंकको ०.१६ प्रतिशले बढेको छ ।

सबैभन्दा धेरै नाफा घट्नेमा बैक अफ काठमाण्डौ छ । जसको नाफा २७.४९ प्रतिशतले घटेको छ । सिभिल बैंकको नाफा पनि २७ प्रतिशतले घटेको छ । कम नाफा घटेको नबिल बैंकको एक प्रतिशतले घटेको छ । २७ वाणिज्य बैंकहरुमध्ये १५ बैंकको नाफा बढेको छ भने १२ को घटेको छ ।

चैत मसान्तसम्ममा २४ वाणिज्य बैंकले एक अर्ब बढी नाफा कमाएका छन् । गत आर्थिक वर्षको चैतसम्ममा अर्ब भन्दा धेरै नाफा गर्ने बैंकहरुको संख्या २६ रहेको थियो । चैतसम्म २ अर्ब रुपैयाँ भन्दा धेरै नाफा गर्ने बैंकको संख्या ७ पुगेको छ । गत वर्षको चैतमा ६ वटा बैंकले मात्र दुई अर्ब बढी नाफा कमाएका थिए।

चैतसम्ममा ३ अर्ब बढी नाफा गर्ने बैंकमा तीन बैंक परेका छन् । जनता बैंकलाई गाभेको ग्लोबल आइएमई, राष्ट्रिय बाणिज्य बैंक र नबिल बैंकले तीन अर्ब बढी नाफा गरेका छन् । गत वर्षको चैतको तुलनामा राष्ट्रिय बाणिज्य बैंक र नबिल बैंक दोहोरीएका हुन भने ग्लोबल थपिएको हो।

कोरोना महामहारीका कारण बैंकहरुको ब्याज तथा कर्जा असुलीमा असहजता आएपछि धेरैजसको बैंकको नाफा घटेको छ । नेपालमा गत चैत ११ देखि सुरु लकडाउन जारी रहेको छ,। अझ राष्ट्र बैंकले कर्जाको ब्याजदरमा सहुलियत दिने तथा कर्जा तिर्ने समय अवधि थप गरिदिएपछि चैत महिनामा बैंकहरुको असुली प्रभावित हुन पुग्यो यसले बैंकहरुको वित्तीय विवरणमा समेत असर पुगेको देखिन्छ।

लकडाउन कहिलेसम्म जारी रहने भने अनिश्चित रहेको र यसको प्रभावले अर्थतन्त्रमा पर्ने असरले आगामी दिनमा बैंकहरुको नाफा अझ घट्ने आँकलन हुन थालेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ बाणिज्य बैंकको नाफा घटेको छ भने १५ बैंकको नाफा वढेको छ । नाफा वढाएका बैंकहरुले पनि न्यून मात्रामा वृद्धि गरेका छन ।