नेपाललाई सन् २०९९ सम्म ‘समुन्नत राष्ट्र’ बनाइने

0
Shares

नेपाललाई सन् २०९९ सम्म ‘समुन्नत राष्ट्र’ बनाइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई सन् २०९९ सम्म ‘समुन्नत राष्ट्र बनाउने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिनुभएको हो ।

‘सन् २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रमा पुर्याउने लक्ष्यका साथ विकास निर्माणका काम अगाडि बढाइएको छ’ सम्बोधनमा उहाँले भन्नुभयो, ‘सन् २०३० सम्म १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य छ । कृषि उत्पादकत्व १० वर्षमा दोब्बर गर्न आधुनिकीकरण यन्त्र, उपकरण खरिदमा लगानी गरिएको छ । ’

राष्ट्रपतिले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यमा भने कोरोना भाइरस संक्रमणले असर पारेको बताउनुभयो । ‘विगतका वर्षमा हाम्रो आर्थिक लक्ष्य दोहोरो अंक प्राप्त गर्ने लक्ष्यसहित अगाडि बढिरहेको थियो’ उहाँले भन्नुभयो, ‘तर कोभिड–१९ ले त्यसमा असर पुर्याएको छ । अबको हाम्रो लक्ष्य, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित हुँदै अर्थतन्त्रलाई बलियो बनाउने हुनेछ ।’ राष्ट्रपतिले ‘सरकारले सयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्त अवलम्बन गर्ने परराष्ट सम्बन्ध कायम गरिहेको’ उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसबाट पार पाउनका लागि विश्व समुदायबीच एकता, आत्मविश्वास र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । समाज फेरि समृद्ध बन्न सक्ने तर गुमेको मानवीय मूल्यको क्षतिपूर्ति हुन नसक्ने भएकाले यतिबेला मानव जातिको सुरक्षा नै सरकारको प्राथमिकता भएको उहाँले स्पष्ट गर्नुभयो ।

उहाँले सरकारले शान्ति सुरक्षा र भ्रष्टाचारको अन्त्यमा विशेष उपलब्धि हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने यात्रामा सरकार अघि बढिरहेका बेला कोभिड– १९ को महामारीका कारण निर्धारित लक्ष्य र गतिमा धक्का पुगेको बताउनुभयो । ‘सरकारको प्राथमिकता बदलिएका छन् । सरकारको अबको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनः उत्थान हुनेछन्’ उहाँले भन्नुभयो ।