व्यवस्थापन र कर्मचारी आन्दोलनले थलिएको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) प्रवाहित कर्जा उठान नसकेर थलिने अवस्थामा पुगेको छ। उच्च बढेको खराब कर्जा वापत नोक्सानी व्यवस्गा गर्दा कम्पनी सञ्चालन नोक्सानीमा पुगेको छ।
लघुवित्तले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको यसै अवधिमा ४.३८ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा अनुपात ८.४२ प्रतिशतमा पुगेको छ।
कुनैपनि संस्थामा प्रवाहित कर्जाको १ प्रतिशत भन्दा थोरै अनुपातमा मात्र एनपिएल रहनु राम्रो मानिन्छ। नेपाल राष्ट्र बैंकले ५ प्रतिशतभन्दा धेरै खराब कर्जा अनुपात हुने संस्थालाई कारवाही समेत गर्ने गरेको छ।
आइपिओ निष्काशन पश्चात कुनै समय आकर्षक नाफा बढाउँदै लगानीकर्तामा आशाको सञ्चार गराएको लघुवित्तमा लगानी गरेका लगानीकर्ताको लगानी डुब्ने अवस्थामा पुगेको छ। संस्थागत सुशासन र कम्पनीको भद्रगोल अवस्थाले उच्च मूल्यमा लगानी गरेका लगानीकर्ताले घाटा ब्यहोर्नुपर्ने अवस्था सिर्जना भएको हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको नाफा ९६.६५ प्रतिशतले घटेर ७ लाख ३३ हजार रुपैयाँमा झरेको छ। कम्पनीको गत आवको यसै अवधिमा १ करोड ६८ लाख ६१ हजार नाफा थियो।
अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले सम्भावित जोखिम बापतको ८ करोड २९ लाख व्यवस्था गर्दा लघुवित्तले २४ लाख ४८ हजार सञ्चालन नोक्सानी ब्यहोरेको हो। गत आवको यसै अवधिमा ५ करोड २८ लाख व्यवस्था गर्दा समेत कम्पनी २ करोड २९ लाख सञ्चालन नाफामा थियो।
३६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रतिशेयर आम्दानी २७ पैसा रहेको छ। उसको जगेडा कोष पनि १७ प्रतिशत बढीले घटेर १८ करोड ५१ लाख रुपैयाँमा झरेको छ। प्रतिशेयर नेटवर्थ १५०.३० रुपैयाँ छ।
लघुवित्तको लघुवित्तको खुद ब्याज आम्दानी १८ करोड ७९ लाखबाट सामान्य सुधार भएर १९ करोड ९८ लाख पुगेपनि सम्भावित कर्जा जोखिम बापतको व्यवस्थामा छुट्याएको रकम घटाएका कारण खुद नाफा ह्वात्तै घटेको हो।
चैत मसान्तसम्ममा १ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ निक्षेप र २ अर्ब ३९ करोड ८३ लाख रुपैयाँ सापटीबाट ४ अर्ब १४ करोड ७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
प्रतिक्रिया