भौतिक पूर्वाधारका लागि १ खर्ब ३८ अर्ब, रेल्वेतर्फ ८ अर्ब ६६ करोड, सुरुङमार्ग र पानीजहाजलाई पनि बजेट

0
Shares

 सरकारले भौतिक पूर्वाधार तथा यातायातका लागि १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले विभिन्न सडक, जलमार्ग तथा रेलमार्गसहितका आयोजनाका लागि उक्त रकमको बजेट विनियोजन गरिएको बताए ।

निर्माणाधीन रेलमार्ग निर्माण तथा सम्भाव्यता अध्ययनका लागि सरकारले रेल्वेतर्फ ८ अर्ब ६६ करोड रुपैयाँ बिनियोजन गरेको छ।

सुरक्षित सडकका लागि १६ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । यस्तै पूर्व-पश्चिम राजमार्गका लागि सरकारले १२ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले नेपाली ध्वजावाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जानसक्ने गरी पूर्वाधार निर्माण र कानुनी व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा स्थानीय जोड्ने निर्वाचन क्षेत्र रणनीति सडक निर्माण कार्यका लागि तीन अर्ब ३० करोड विनियोजन गरेको बताएका छन् ।

हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७ अर्ब एक करोड विनियोजन भएको छ । 

यसैगरी सुरुङमार्ग आयोजनाका लागि ६ अर्ब ९२ करोड विनियोजन गरिएको उनले बताए । निर्माणाधीन सडक, स्तरोन्नतिका लागि १० अर्ब ९१ करोड विनियोजन गरिएको बताए ।

प्रकाशित मिति: १५ जेठ २०७७, बिहीबार  १८ : ०८ बजे