स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावजनिक गरेको नेपालमा कोरोना संक्रमितको विवरण अनुसार युवामा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ।
विशेषगरि २० देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै व्यक्तिमा संक्रमण भेटिएको हो।
मन्त्रालयका अनुसार शनिबारसम्म १ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका मात्रै ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो उमेर समूहमा मात्रै कूल संक्रमितको ३७.८३ प्रतिशत संक्रमण देखिएको छ।
यसैगरि ३१ देखि ४० वर्ष उमेर समूहका ३२७ जना, ११ देखि २० उमेर समूहका २९६ जना, ४१ देखि ५० वर्षका १४३ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ४५ जना, र दश वर्षभन्दा कम उमेर समूहका ३७ जना रहेका छन्।
यस्तै मन्त्रालयका अनुसार ६१ देखि ७० वर्ष उमेर समूहका १७ जना, ७१ देखि ८० वर्ष उमेर समूहका ५ जना र ८० वर्षभन्दा बढी उमेरका १ जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा संक्रमित देखिएको धेरै कोरोना संक्रमित रोजगारीका लागि भारतबाट फर्किएकाहरु रहेका छन्। युवाहरु नै रोजगारीका लागि बाहिर जाने भएकाले यो उमेर समूहमा धेरै संक्रमण पुष्टि भएको बताइन्छ।
हालसम्म संक्रमित १ हजार ४०१ मध्ये १ हजार २८८ जना पुरुष र ११३ जना महिला रहेका छन्। संक्रमितको आधारमा महिलाको जम्मा ८ प्रतिशत रहेको छ।
प्रतिक्रिया