बाँडफाँडको २३ दिनपछि स्वाभिमानको सेयर कारोबार


स्वाभिमान लघुवित्त वित्तीय संस्थाको मंगलबार देखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ । नेपला स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाको शेयर कारोबारका लागि एसएमएफबीएस संकेत प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थ न्यूनतम ९१ रुपैयाँ ८४ पैसादेखि अधिकतम नेटवर्थको तीन गुणा २७५ रुपैयाँ ५२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । मंगलबार यहि रेञ्जभित्र रहेर कम्पनीको शेयर खरिद बिक्री भएको छ ।

कम्पनीले कारोबारका लागि सोमबार एक लाख ९८ हजार ६१० कित्ता आईपिओ सहित कूल ६ लाख १८ हजार ६१० कित्ता शेयर नेप्सेमा सूचीकरण गरेको थियो ।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्तले स्वाभिमान माइक्रोफाइनान्सले बैशाख २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा आईपिओ बिक्रीमा ल्याएर जेठ ५ गते आइतबार बाँडफाँड गरेको थियो ।

सो बाँडफाँडमा १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २० कित्ता देखि पाँच हजार कित्तासम्म आवेदन गरेका भाग्यमानी ७ आवेदकले ११ कित्ता आईपिओ प्राप्त गरेका थिए । बाँडफाँडको २३ दिनपश्चात कम्पनीको शेयर सूचीकरण भई कारोबारमा आउने भएको हो ।
चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले एक करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरर प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ९६ पैसा कायम गरेको छ।