कर बुझाउने म्याद बढाउन आग्रह गर्दे व्यवसायीले लेखे राजश्व सचिवलाई पत्र

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले कर भुक्तानी गर्ने म्याद बढाउन सरकारसँग माग गरेको छ ।

आन्तरिक राजश्व विभागले जेठ २५ गतेभित्र सबै कर भुक्तानी गर्न सूचना प्रकाशित गरेपछि व्यवसायीले अर्थमन्त्रालय गुहारेका हुन् ।

 महासंघले मंगलबार अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीलाई पत्राचार गरी आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क तिर्ने समय आगामी असार मसान्तसम्म थप्न आग्रह गरेको छ ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का कारण चैत ११ गतेदेखि उद्योग व्यवसाय बन्द रहेकाले जेठ २५ गतेसम्म कर तिर्न नसक्ने व्यवसायीको भनाई छ।

आगामी आर्थिक वर्षको बजेटले समेत मुलुकको समग्र अर्थतन्त्रले भोगिरहेको कठिन चुनौतिलाई स्वीकार गरिसकेको जानकारी गराउँदै महासंघले कर तिर्ने समय बढाउन माग गरेको हो । यस्तै व्यवसायीको मनोवल उच्च राख्न महासंघले आग्रह गरेको छ।

आन्तरिक राजस्व विभागले लकडाउन जारी रहेपनि कर बुझाउने म्याद थप नगर्ने जनाएको छ। विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने बताएको छ।

कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण सरकारले कर विवरण, आय विवरण तथा कर दाखिला गर्ने म्याद पटक पटक थप्दै जेठ २५ गतेसम्म कायम गरेको थियो।

सरकारले चैत ११ गते लकडाउन गरेपछि कर तिर्ने समय पनि सार्दै आएको थियो। जेठ ३२ गतेसम्म लकडाउन जारी नै रहदा राजश्व विभागले कर तिर्न ताकेता गरेपछि व्यवसायीहरु अर्थमन्त्रालय गुर्हान पुगेका हुन्।