स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घटामा ८ हजार ९५८ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट ४ हजार ९२४ वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट ४ हजार ३४ वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।
मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल २ लाख ६३६ ब्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ८० हजार २६७ वटा र आरडिटी प्रविधिबाट १ लाख २० हजार ३७९ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा १२ हजार ६४२ वटा, प्रदेश नं २ मा ७ हजार ३३० जना, वाग्मती प्रदेशमा २५ हजार ९३३ जना, गण्डकी प्रदेशमा ९ हजार १५१ वटा, प्रदेश नं पाँचमा २६ हजार ७४४ वटा, कर्णाली प्रदेशमा १४ हजार ८४५ वटा र सुदूरपश्चिम प्रदेशमा २३ हजार ७३३ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।
मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।
१ लाख ५५ हजार ८६८ जना क्वारेटाइनमा
मुलुकभर हालसम्म १ लाख ५५ हजार ८६८ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ३ हजार ८०० जना, प्रदेश नम्बर दुईमा २२ हजार ७०२ जना, वाग्मती प्रदेशमा ३ हजार २२७, गण्डकी प्रदेशमा ४ हजार ४७० जना, प्रदेश नम्बर पाँचमा ४१ हजार ६८३ जना, कर्णालीमा ३० हजार १६६ जना र सुदूरपश्चिम प्रदेशमा ४९ हजार ८२० जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ३५० वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा पछिल्लो २४ घण्टामा जनाले आफ्नो ३७८ स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट काठमाण्डौंका थप २ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै कूल ४७७ जना रेड जोनमा परेका छन्।
रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्रेसिङको कार्य गरिरहेको उनले बताए।
मंगलबार थप १२ जनाले जिते कोरोना, हालसम्म २७८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना संक्रमणलाइ पराजित गरेर घर फर्किएका छन्। पछिल्लो विवरण अनुसार जनकपुर अस्पतालबाट २० वर्षकी महिला र १९ देखि ४५ वर्षका धनुषा, महोत्तरी र सर्लाहीका ४ जना पुरुषहरु ११ देखि १६ दिनको बीचमा डिस्चार्ज भएका छन्।
यसैगरि टेकु अस्पतालबाट काठमाण्डौंका ६९ वर्षका पुरुष ९ औं दिनमा, बलम्बुस्थित युनिफाइड कमाण्ड अस्पतालबाट रौतहटका ३४ वर्षका पुरुष १५ औं दिनमा, त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट कपिलवस्तुका ६ वर्षका बालिका १९ औं दिनमा, बुटवलबाट अर्घाखाँची, कपिलवस्तुका १८ देखि २४ वर्षका ४ जना पुरुष १० देखि २५ औं दिनमा अस्पतालबाट निको भई घर फर्किएका छन्।
यससँगै कोरोना पराजित गरि डिस्चार्ज भई घर फर्केनेहरुको कुल संख्या २७८ पुगेको छ। जसमध्ये २२२ जना पुरुष र ५६ जना महिला छन्।
प्रतिक्रिया