रौतहटमा दुई स्वास्थ्यकर्मी माथि क्वारेन्टाइनमै कुटपिट

0
Shares

रौतहटको राजपुर नगरपालिका–९ स्थित क्वारेन्टाइनमा दुई स्वास्थ्यकर्मीमाथि आक्रमण गरि कुटपिट भएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार सिनियर अहेव खुर्सीद आलम र रामनरेश साहमाथि कुटपिट भएको हो। कुटपिटबाट स्वास्थ्यकर्मीको टाउकोमा चोट पुगेको छ।

कुटपिट गरिएका दुबैको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

आक्रोसित भीडले स्वास्थ्यकर्मीहरु चढेर आएको तीन वटा मोटरसाइकल समेत तोडफोड गरेका छन् ।

किन भयो स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना ?

भारतबाट फर्किकाहरुलाई राखिएको राजपुर नगरपालिका–९ स्थित क्वारेन्टाइनमा राखिएकाहरुले आरडिटी परीक्षण नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिटमा उत्रिएको बताइएको छ।

यसअघि २०९ वटा पीसीआर परीक्षणमा १४५ जनाको नेगेटिभ र ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

सुरुमा क्वारेन्टाइनमा संक्रमण पुष्टि नभएका १६५ जना र संक्रमण पुष्टि भएकाहरुलाई एकै स्थानमा राखिएको थियो। सोही कारणले पीसीआर नेगेटिभ आएकाहरुलाई आरडीटी परीक्षण गराएर मात्रै घर पठाउने तयारीका साथ परीक्षण थालिएको विरोधमा परीक्षण चलिरहेकै समयमा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्।

यसअघि पीसीआर नेगेटिभ आएकाहरुमध्ये २० जनामा आरडिटी परीक्षण भएकोमा १० जनामा आरडिटी पोजेटिभ नतिजा देखिएको थियो।