मन्त्रिपरिषद् बैठकले टुङ्ग्याएन लकडाउनको मोडालिटी, बल फेरि उच्चस्तरीय समितिमा पास

0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बिहीबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनको खुकुलो पार्ने विषयमा छलफल भएपनिकुनै ठोस निष्कर्ष बिना नै बैठक सकिएको छ।

आम जनताले आजको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने अपेक्षा गरेपनि बिहीबारको बैठकबाट मोडालिटी आउन सकेन। बरु बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई नै कार्ययोजना बनाउने गरि बल पास गरेको छ।

बैठकमा सहभागि एक मन्त्रीले लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय नभएको जानकारी दिँदै दुई दिनभित्र मोडालिटी पेश गर्न उच्चस्तरीय समितिलाई जिम्मा दिएको बताए।

यससँगै अब कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अन्तिम रुप दिएर पठाएको सुझावका आधारमा आगामी मन्त्रिपरिषद् बैठकले मात्रै निर्णय गर्ने भएको छ।

यता चैत ११ गतेदेखि सरकारले एकै प्रकृतिको लकडाउनलाई बारम्बर गप्दै जान थालेपछि बिहीबारदेखि राजधानी सहित देशका प्रमुख शहरहरुमा व्यवसायीहरुले लकडाउन अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्न थालेका छन्।

लगातारको लकडाउनले मोडालिटी परिवर्तन गर्न चौतर्फी दवाव सरकारमाथि भएपनि सो अनुसारको खाका अझै आउन सकेको छैन। लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समितिले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरुसँग र प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए ।

सरकारले पछिल्लो पटक बढाएको लकडाउनको समय आगामी जेठ ३२ गते सर्किँदैछ।