गोरखापत्र संस्थानमा २६ लाख हिनामिना, तत्कालीन महाप्रबन्धक समेत चार जनाविरुद्ध आरोपपत्र दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइराला समेत ४ जना उपर २६ लाख १६ हजार १० रुपैयाँ हिनामिना गरेको अभियोगमा त्यतिनै बिगो कायम गरी आरोपपत्र दायर गरेको छ ।

अख्तियारले गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको उल्लेख गरेको छ।
गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रा.लि. बीच न्यूज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महशुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट व्यहोराको सम्झौता विपरीत तत्कालीन महाप्रबन्धक सुशील कोइराला समेतको मिलेमतोमा संस्थानलाई २६ लाख १६ हजार १० रुपैयाँ हानि नोक्सानी गराएको अख्तियारको अनुसन्धानले देखाएको छ।

त्यस्तै आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का संचालक दिपक कुमार भंसालीलाई समेत आरोपपत्र दायर गरेको छ ।

गोरखापत्र संस्थानलाई ग्रैह्रकानुनी हानी पु¥याउने बदनियतले काम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको देखिएकोले निज उनीहरुविरुद्ध प्रतिव्यक्ती छब्बीस लाख सोह्र हजार दश बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ. दफा बमोजिम बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ।