सरल तरिकाले कर तिर्ने र सहज ढङ्गले कारोवार गर्दा करकै कारण व्ययभार नपर्ने : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण बजारमा परेको प्रभावलाई न्यून गर्दै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्ने बताएका छन् । उनले भने, “कतिपय अवस्थामा बजार र उत्पादन शिथिल हुँदा शेयर बजारमा पनि प्रभाव परेको हुन सक्छ, तर यो सबै अल्पकालीन हो । कोरोनालाई जित्न सकिन्छ । अब कोरोनासँगै आर्थिक क्रियाकलाप पनि अघि बढाउनुपर्छ ।”

नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवलाई आज श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले कोरोनासँग जुध्दै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बताए । उनले अहिलको पहिलो सर्त जीवन रक्षा भए पनि त्यससँगै आर्थिक क्रियाकलापमा अघि बढाउनुपर्ने र उद्योगसमेत क्रमशः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । उनले बोर्डले पनि अब कारोवार अघि बढाउने गरी तयारी थाल्नुपर्ने स्पष्ट पारे ।

धितोपत्रको दोस्रो बजारमा ऋणपत्रको पनि कारोवार गर्ने कुरा सकारात्मक भएको भन्दै अर्थमन्त्रीले औद्योगिक ऋणपत्रलाई ध्यान दिन सकिए समग्र पूँजीबजार र अर्थतन्त्रका लागिसमेत राम्रो हुने बताए । उनले जोड दिँदै भने, “धितोपत्र बजारमा ऋणपत्रको कारोवार गर्ने कुरा आएको छ, त्यो पनि राम्रो छ । अब क्रमशः औद्योगिक ऋणपत्रहरु पनि कारोवार गर्ने प्रक्रिया अघि बढाउन सकियो भने झनै राम्रो हुनेछ ।”

अर्थमन्त्री डा खतिवडाले आन्तरिक पूँजी परिचालनमार्फत औद्योगिक, वित्तीय, ऊर्जा वा अन्य क्षेत्रमा पूँजी परिचालनमा धितोपत्र बोर्डले काम गरिरहेको र नियामक निकायका रुपमा बोर्डको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । वस्तु विनिमय बजारको पनि हाम्रोमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै उनले अहिले कमोडिटी बजार ठूलो सम्भाव्य बजार हुन सक्दैन कि रु भन्ने लाग्न सक्ने भए पनि आगामी दिनमा कृषिजन्य वस्तु, धातुजन्य उत्पादन, पेट्रोलियम उत्पादन वा औद्योगिक उत्पादनको वस्तु विनियम बजारको विकास हुनैपर्ने उल्लेख गरे ।

कमोडिटी बजारका लागि अनुमतिको प्रक्रिया अघि बढाउन बोर्डलाई आग्रह गर्दै अर्थमन्त्री डा खतिवडाले क्रेडिट रेटिङको कामलाई थप समृद्ध र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औँल्याए । सरकारले बजेटमार्फत पूँजी बजारलाई प्रोत्साहन गरेको जानकारी दिँदै उनले सरल तरिकाले कर तिर्ने र सहज ढङ्गले कारोवार गर्दा करकै कारण व्ययभार व्यहोर्नु नपर्ने व्यवस्था गरिएको बताए ।

मन्त्री खतिवडाले वित्तीय पहुँच बढाउने भनेको बैंक खाता खोल्ने कुरा मात्रै नभई शेयर बजारमा सर्वसाधारणको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेतर्फ पनि कुरामा ध्यान दिनुपर्ने र थोरै बचत गर्ने नागरिक पनि बजारमा आउने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले बजारका सूचना पारदर्शी हुनुपर्ने, वित्तीय विवरणहरु ठीक हुनुपर्ने र नागरिकको सहज पहुँचमा हुनुपर्ने उल्लेख गरे ।