कोरोना भाइरसबाट थप एकको मृत्यु, ३१४ मा सङ्क्रमण

0
Shares

कोभिड–१९ सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ। स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

उनको मृत्यु भएसँगै अहिलेसम्म १४ जना कोभिड–१९ को कारणले मृत्यु भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ । यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र महिला २५६ रहेका छन् ।

यसैगरी आज २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएको सो अवसरमा जानकारी दिइयो । उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् ।

क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५औं दिनदेखि २०औं दिनमा भएका छन् । यस्तै युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् । यसरी आज डिस्चार्ज हुनेसँगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन् ।

हालसम्म दुई लाख ५७ हजार ९६२ जनाको परीक्षण

सरकारले सोमबारसम्म जम्मा दुई लाख ५७ हजार ९६२ जनाको कोभिड–१९ परीक्षण गरेको छ। यो सङ्ख्या पिसीआर र आरडिटी विधिबाट गरिएको कूल परीक्षणको सङ्ख्या भएको मन्त्रालयले जानकारी दिएको छ ।

पिसीआर विधिबाट कूल एक लाख ९७१ व्यक्तिको परीक्षण गरिएको छ भने आरडिटीबाट एक लाख ५६ हजार ९९१ व्यक्तिको परीक्षण गरिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

गत २४ घण्टामा पिसीआर विधिबाट चार हजार ७६६ र आरडिटी विधिबाट ११ हजार ९४२ गरी जम्मा १६ हजार ७०८ परीक्षण सम्पन्न भएको छ। हाल सातै प्रदेशमा गरी एक लाख ६६ हजार ६६८ जना क्वारेन्टिनमा रहेका छन्।

सरकारले प्रयोगशालाको दायरा बढाउन गजेन्द्रनारायण प्रादेशिक अस्पताल राजविराजमा प्रयोगशालाको स्थापना भएको छ। अब सोही अस्पतालबाट पीसीआर परीक्षण हुनेछ । यससँगै देशभरमा प्रयोगशालाको सङ्ख्या २१ पुगेको छ। विभिन्न अस्पतालका आइसोलेशनमा कूल तीन हजार २६० व्यक्ति उपचाररत रहेको डा. गौतमले जानकारी दिए।

कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या आज २१ जना रहेको छ । यीमध्ये २० जना पुरुष र एक जना महिला छन् । आज डिस्चार्ज हुनेमा सबै १३ देखि ५२ वर्षसम्मका छन् । बाँकेस्थित खजुराबाट नारयणापुरका २० जना पुरुष डिस्चार्ज भएका छन् । उहाँहरु १५ देखि २० दिनमा डिस्चार्ज भएका हुन्।

कोभिड–१९ युनिफाइड अस्पतालबाट २३ वर्षिया महिला पाँचौँ दिनमा अस्पताबाट डिस्चार्ज हुनुभएको छ । यससँगै अहिलेसम्म ४८८ जनाले कोभिड–१९ लाई जितेका छन् । तीमध्ये ४१९ पुरुष र ६९ महिला छन् । कोभिड–१९ का सङ्क्रमित दिनहँु बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रूपमा बढ्दै गएको छ । आइतबार मात्रै एकै दिन १०२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए ।

प्रकाशित मिति: २६ जेठ २०७७, सोमबार  २० : ०३ बजे