बंगलादेशबाट आइतबार २३४ जनालाई नेपाल ल्याइँदै


बंगलादेशमा समस्यामा परेका नेपालीहरुलाई पनि महंगो भाडा तिराएर नेपाल फर्काइने भएको छ । बंगलादेशमा रहेका २३४ जना नेपाली नागरिकलाई नेपाल एयरलाइन्सको जहाजबाट आगामी आइतबार काठमाण्डौं ल्याइने भएको हो ।

बंगलादेशको ढाकाबाट काठमाण्डौंसम्म आउनका लागि यात्रुहरुले १ सय ६५ अमेरिकी डलर अर्थात १९ हजार ९५८ रुपैंया भाडा तिर्नु पर्नेछ । दुतावासमा नाम टिएकाहरुलाई नेपाल एयरलाइन्समा टिकट खरिद गरेर त्यहाँस्थित दुतावासमा सम्पर्क गर्न भनिएको छ ।

नेपाल फर्कन र फर्किसकेपछि लाग्ने सम्पूर्ण खर्च यात्रु आफैंले व्यहोर्नु पर्ने दुतावासले प्रष्ट पारेको छ ।

बुधबार मात्र थाइल्याण्डमा रहेका नेपालीलाई असार ३ गते काठमाण्डौं ल्याउने तालिका अनुसार टिकट काट्नका लागि बैंककस्थित नेपाल राजदुतावासले अनलाइनबाट नाम टिपाएकाहरुलाई आग्रह गरेको छ ।

यसअघि म्यानमारबाट २६ र संयुक्त अरब इमिरेट्सबाट १६८ जना नेपाली सम्बन्धित देशको सहयोगमा काठमाण्डौं अवतरण भैसकेका छन् ।