पहिलो चरणको लकडाउन खुल्यो, यस्ता छन् संचालन गर्न पाइने २१ सेवा र कामहरु

0
Shares

सरकारले विहीबारदेखि लागू हुनेगरी लकडाउन केहि खुकुलो बनाउने निर्णय गरेको छ । जसअनुसार आजबाट पहिलो चरणको लकडाउन खुला भएको हो।

मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले गरेका निर्णय अनुसार सुरक्षा मापदण्ड अपनाएर तोकिएका पसल तथा व्यवसायहरु संचालन गर्न पाइनेछ।

लकडाउन तीन चरणमा खुकुलो पार्दै लैजाने सरकारको निर्णय, कहिले के के खुल्छन ? नखुल्नेको सूची सहित

सरकारको निर्णय अनुसार पहिलो चरणमा २१ दिनमा २१ सेवा खुल्नेछन् । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउनेछन् ।

अबको २१ दिनपछि अर्को १५ दिन थप सेवा सञ्चालन गर्न दिइनेछ । त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् । यसरी हेर्दा शैक्षिक संघसंस्था र मनोरञ्जनस्थल भदौयता सञ्चालनमा आउने सम्भावना कम छ ।

पहिलो चरणमा आजबाट खुल्ने सेवा र कार्य

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धिधतसमेत)
१२) निर्माण कार्य (निजीसमेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटल
१६) बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेसनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)