हायर मी नेपालले पचास हजारलाई रोजगारी दिलाउने


हायर मी नेपालले पचास हजारलाई रोजगारी दिलाउने परियोजना संचालन गर्ने भएको छ ।

श्रावणको पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको हायर मी नेपाल परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखि पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको नेशनल एकेडमी फर फाइनान्न्सील सर्भिेिसेस प्रालिको हायर मी नेपाल परियोजनाका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिए ।

कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मंदीबाट करोडौ मानिस बेरोजगार हुने देखिएको सन्दर्भमा संक्रमणको कारण बिदेशबाट आउने दश लाख, देशमै बेरोजगार भएका दश लाख र अन्य पाँच लाख समेत न्यूनतम पचीस लाख जनशक्तीलाई रोजगारी दिने चुनौती सरकार सामु आइसकेको संस्थाको भनाई छ ।

सरकारले आ.व २०७७/७८ को निति कार्यक्रम तथा बजेटमा समेत स्थानिय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गरी उपलब्ध श्रमिक तथा कामदारको योग्यता, सिप र क्षमता अनुसार काम उपलब्ध गराउन “श्रम सूचना बैंकको“ अवधारणा सार्वजनिक गरेको छ ।

स्थानीय रोजगार सेवा केन्द्रले रोजगार दाता र रोजगारीको खोजिमा रहेकाहरू बिचमा सम्पर्क स्थापित गरी रोजगारी प्राप्तीमा सहयोग गर्ने मूल लक्ष्य लिएको देखिन्छ ।

सरकारको यही कार्यक्रममा सहयोग पुर्याउने उद्धेश्यले नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेस प्रा. लि. ले हायर मीनेपाल परियोजना संचालन गर्न गइरहेको भट्टराईले बताए ।

रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने,परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ ।समयमा चाहेको रोजगारी नपाउदा विदेश पलायन हुनु पर्ने वाध्यता छ ।

अर्को तिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ । यही समस्या समाधान र सरकारको श्रम सुचना बैंकलाई सघाउने उद्धेश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको उनले बताए।

देश र विदेशमा रहेको श्रमिक कामदारलेवेब साईट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ ।

परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गरि बढी भन्दा बढी जनशक्तीलाई समावेश गरीनेछ ।

रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमति भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिसकिएको जानकारी भट्टराईले दिए ।