सुनको भाउ बढेपछि कारोबारमा मन्दी, कोरोना कहरले ६० अर्बको व्यवसाय संकटमा

0
Shares

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना महामारीको कारण लागू गरिएको लकडाउनले गर्दा सुनचाँदी व्यवसाय संकटमा परेको बताएको छ ।

महासंघले लगभग ६० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रलाई अहिलेको संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको माग समेत गरेको छ ।

सुनको भाउको उच्च वृद्धिको कारण उत्पन्न मन्दीले सुनचाँदी ब्यवसाय थिलोथिलो भएको अवस्थामा झन अहिले करिव ३ महिनादेखिको लकडाउनले थप संकटग्रस्त भएको महासंघको भनाई छ ।

ब्यवसायीले घर बहाल तिर्न, कर्मचारीहरूको तलब, बैंक किस्ता र ब्याज बुझाउन ठूलो कठिनाइ उत्पन्न भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोज कुमार साहले बताए ।

कोरोनाकै कारण केही दिन यता सुनको मूल्य प्रति तोला ९० हजार नजिक रही हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन र राजस्व (भन्सार) अभिबृद्धिले सुनको मूल्यलाई थप महँगो बनाएको महासंघको भनाई छ।

यस्तो परिस्थितिमा एकातिर लकडाउनको कारण खर्च अभाव झेलिरहेका सर्वसाधारणको घुइँचो फिर्ता बिक्रीको लागि एकैचोटी आएमा बजारले थेग्न सक्ने अवस्था नरहने पनि महासंघले बताएको छ ।

बजारले सामना गर्न नसक्ने यस्तो परिस्थितिमा ब्यवसायीले आवश्यक नगदको बन्दोबस्त गर्न, आम उपभोक्तालाई केही समय धैर्य धारण गर्न र सरकारले नीतिगत निर्णय गरी सक्दो सहजीकरण गर्न महासंघले ध्यानकर्षण गराएको छ ।

महासंघले बिपत्तिको यस घडीमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नेपाल सरकार प्रधानमन्त्री राहत कोषमा १५ लाख आर्थिक सहयोग गरेको जनाएको छ । साथै महासंघ मातहतका ६५ वटा जिल्ला/नगर संघलाई परिचालित गरि ती जिल्ला÷नगर संघ मार्फत १ करोड ८ लाख रुपैयाँको बिभिन्न राहत बितरण गरेको जनाएको छ ।

साथै महासंघले कोरोना महामारीको प्रभावबाट सुनचाँदी ब्यवसायमा उत्पन्न भएको बिशेष परिस्थितिको सामना गर्दै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुनचाँदीको बजारलाई सामान्यीकरण गर्र्न ब्यवसायी, आम उपभोक्ता एवं नेपाल सरकारलाई आग्रह गरेको छ ।