लकडाउनले ल्यायो बैंकहरुको निक्षेप र कर्जाको वृद्धिदरमा यस्तो सन्तुलन

0
Shares

निक्षेप संकलन सुस्त हुँदा पनि कर्जा विस्तारमा आक्रमक रहदै आएका बैंकहरुको कर्जा निक्षेप अनुपातमा लकडाउनले सन्तुलनमा ल्याएको छ ।

लकडाउनका कारण लगभग तीन महिनासम्म आर्थिक क्रियाकलाप ठप्प हुँदा बैंकहरुको कर्जा प्रवाह रोकिदा निक्षेप र कर्जाको अनुपातमा सन्तुलनको अवस्था देखिएको हो ।

सरकारले कोराना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। चैत लागेयता मात्र बैंकहरुमा १३६ अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले १३ अर्बले मात्र कर्जा बढेको छ । चैत सुरु भएयता बैंकहरुमा कर्जा प्रवाह भन्दा १२३ अर्ब बढी रकम निक्षेप संकलन भएको छ । यो तथ्याकंमा लकडाउन अघिको दश १० दिदनको पनि तथ्यांक समावेश छ ।

वैशाख र जेठ महिाना मात्रै बैंकहरुमा ८७ अर्ब निक्षेप थपिएको छ भने २९ अर्बले कर्जा घटेको छ । लकडाउननै भएपनि बैंकहरुले केहि कर्जा असुल गर्दा कर्जाको रकम घट्न गएको हो। पछिल्लो एक महिना अर्थात जेठ महिनामा ६२ अर्ब निक्षेप थपिदा २० अर्ब कर्जा घटेको देखिन्छ ।

जेठ ३० गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३२ खर्ब ७६ अर्ब रहेको छ भने कुल कर्जा प्रवाह २८ खर्ब १६ अर्ब रहेको छ।

चालु आर्थिक बर्षको सुरुवात अर्थात २०७६ साउन १ गते बैंकहरुमा २८ खर्ब ७८ अर्ब निक्षेप थियो भने त्यस अवधिमा बैंकहरुले २४ खर्ब ९८ अर्ब कर्जा परिचालन गरेका थिए । चालु आर्थिक वर्षमा बैंकहरुमा ३९८ अर्बले निक्षेप बढेको छ भने ३१८ अर्बले कर्जा बढेको छ । लकडाउन अगाडि बैंकहरुमा निक्षेपको भन्दा कर्जाको वृद्धिदर बढी हुने गरेको थियो । लकडाउन अवधिमा निक्षेप थपिने, कर्जा रोकिने तथा केहि कर्जाहरु असुल समेत भएपछि निक्षेप र कर्जाको वृद्धिको खाडल सन्तुलनमा आएको हो ।

सरकारले लकडाउन खुकुलो बनाउदै लगेकाले आर्थिक क्रियाकलापहरु बढ्दै जाँदा बैकहरुमा कर्जाको माग बढ्दै जाने बैंकहरुको भनाई छ।