दिल्लीमा लकडाउन नलम्बिने, गृहमन्त्रीद्वारा सर्वदलीय बैठक

0
Shares

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अब लकडाउन नलम्बिने भएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागूपर्ने पक्ष र योजनामा आफु नरहेको सोमबार बताएका छन्।

“आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा फेरि लकडाउन लम्याउने मेरो योजना छैन,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा पनि यही बारेमा छलफल भएको थियो । केन्द्रीय राजधानी समेत रहेकाले केन्द्रीय सरकारले समेत चासो राखेर छलफल गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बैठकमा मुख्यमन्त्री केजरीवालको पार्टी आम आद्मी पार्टीका सांसद संजय सिंह पनि सहभागी थिए । बैठकमा विरामीहरुका लागि शैया संख्या बढाउने बारेमा पनि छलफल भएको थियो ।

भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय काँग्रेस, आम आद्मी पार्टीका प्रतिनिधि र सरकारी उच्च अधिकारीहरु पनि बैठकमा सहभागी भएका थिए ।

बैठकमा लकडाउनलाई लम्याउने कि नलम्याउने, फैलिँदै गरेको कोरोनाभाइरसको सङ्क्रमणलाई कसरी न्युनिकरण गर्ने, अभाव वा समस्याहरु के के छन् लगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति: २ असार २०७७, मंगलबार  ०८ : १० बजे