सगरमाथा इन्स्योरेन्सको लाभांश लिन बाँकी छ ? संकलन नगरे लगानीकर्ता संरक्षण कोषले लैजाला !

0
Shares

के तपाई सगरमाथा इन्स्योरेन्स (SIC) को शेयरधनी हुनुहुन्छ र पाँच वर्षअघिको नगद लाभांश संकलन गर्नुभएको छैन भने छिटो संकलन गर्नुहोस्। नत्र यसरी लामो समयसम्म लाभांश संकलन नगर्ने लगानीकर्ताको लाभांश कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएको छ।

सगरमाथा इन्स्योरेन्सले पाँच वर्षसम्म पनि लाभांश संकलन नगर्ने लगानीकर्ताको लाभांश कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा पठाउने भएको छ।

कम्पनीले विगत ५ वर्ष अघि आर्थिक वर्ष २०६९/०७० को लाभांश लिन बाँकी रहेका लगानीकर्तालाई शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल जमलबाट यथाशिघ्र आफ्नो लाभांश संकलन गर्न भनेको हो।

उक्त कम्पनीले आव २०६९/०७० मा २० प्रतिशत बोनस शेयर र २२.१ प्रतिशत नगद लाभांश दिएको थियो। २०७१ असार ५ गते सम्पन्न साधारण सभाबाट उक्त लाभांश अनुमोदन भएको थियो।

कम्पनी ऐन बमोजिम लाभांश वितरण गर्ने निर्णय भएको पाँच वर्षसम्म संकलन नगर्ने लगानीकर्ताको लाभांश लगानीकर्ता संरक्षण कोषमा पठाउनुपर्ने हुन्छ। त्यसैले कम्पनीले आफ्नो लाभांश संकलन गरि लाभांश सुरक्षित गर्न अनुरोध गरेको छ।

लाभांश लिन बाँकी शेयरधनीको विवरण सगरमाथा इन्स्योरेन्स र शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेवसाइटमा राखिएको छ। आगामी आर्थिक वर्षको साधारण सभासम्म लाभांश संकलन नगरे लगानीकर्ता संरक्षण कोषमा पठाइने जनाएको छ।

कम्पनीले आर्थिक वर्ष २०६४/०६५ देखि २०६८/०६९ सम्मको लाभांश लगानीकर्ता संरक्षण कोषमा पठाइसकेको छ। सो अवधिमा लाभांश लिन बाँकी शेयरधनीको विवरण सगरमाथा इन्स्योरेन्सको वेवसाइटमा राखिएको जनाइएको छ। सम्बन्धित शेयरधनीले लगानीकर्ता संरक्षण कोषबाट लिन सक्नेछन्।

बीमा समितिले तोके बमोजिम १ अर्ब चुक्ता पूँजी कायम गर्न कम्पनीले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट हालसम्मकै उच्च (८६ प्रतिशत बोनस शेयर) वितरण गरेको थियो। गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट भने कम्पनीले लाभांश वितरण नगर्ने जनाएको छ।