मालपोतका लेखापालसँग ३ करोड बढीको गैरकानूनी सम्पत्ति, अख्तियारले चलायो मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बाराका लेखापाल युगलकिशोर ठाकुरविरुद्ध ३ करोड बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले ठाकुरविरुद्ध ३ करोड, ४ लाख, ९४ हजार ३०८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो । २०६८ माघ ९ गतेदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सहलेखापालबाट सार्वजनिक सेवामा प्रवेश गरेका ठाकुरले २०७६ वैशाख मसान्तसम्ममा सो रकम भ्रष्टाचार गरेको अख्तियारको भनाई छ ।

अनुसन्धानका क्रममा लेखापाल ठाकुरले श्रीमती शोभाकुमारीको नाममा दर्ता कायम रहने गरी बारा जिल्ला बधवन गाउँपालिका– ५ मा ७ कट्ठा १० धुर जग्गा ३ लाख रुपैयाँमा खरिद गरेको र मदनप्रसाद गुप्तासँग संयुक्त नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा २ करोड ७६ लाख ४४ हजार १ रुपैयाँ जम्मा भएको देखिएको अख्तियारले जनाएको छ ।

त्यस्तै विभिन्न बैंक तथा वित्तीय संस्थामा ११ लाख ३९ हजार १५ रुपैयाँ र उनको घरबाट नगद २४ लाख ९२ हजारसमेत गरी ३ करोड १५ लाख ७५ हजार १६ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

ठाकुरले मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा मालपोत कार्यालयमा उठेका राजस्व रकमहरु श्रमिति र सहयोगीको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको र कार्यालयको खातामा दाखिला गरिनु पर्ने राजस्व रकमलाई समेत आफु अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गरेको पाइएको अख्तियारले जनाएको छ ।

ठाकुरविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २(ख) बमोजिम जफत गर्न मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ।