हायात होटल बन्द हुँदा शेयर बजारमा चलखेल, साना लगानीकर्ता प्रभावित


तारागाँउ रेजन्सी होटलमा भएको बदमासी ढाकछोप गर्न व्यवस्थापनले होटल बन्द गर्ने निर्णय गरेसँगै दोस्रो बजारमा होटलको शेयरमा चलखेल हुन थालेको छ । मूल्य घटाएर धमाधम शेयर किन्नेहरु सक्रिय हुँदै गर्दा हतारिएर शेयर बेच्नेको चाप पनि बढेको छ । जसका कारण मंगलबार शेयर बजारमा तारागाउँको अधिक शेयर कारोबार भएको छ ।

होटलमा कार्यरत मजदूर र व्यवस्थापनको विवादले होटलको सम्पूर्ण सेवा बन्द हुँदा दोस्रो बजारमा औसतभन्दा अधिक धेरै शेयर कारोबार भएको हो । यसले घट्दो बजारमा कमाई गर्नका लागि केही लगानीकर्ताले अस्त्र बनाएका छन् भने व्यवस्थापनले गरेको निर्णयले एक थरी लगानीकर्ताको मनोबल खस्किएको छ भने अर्का थरीको मनोबल बढेको छ ।

मंगलबार तारागाउँको एक लाख ३८ हजार ७५३ कित्ता शेयरहरु ४ करोड २४ लाख ५६ हजार रुपैंयामा किनबेच भएका छन् । होटलको शेयर मूल्यमा भारी गिरावट देखिँदा पनि अधिक कारोबार हुनुले अधिकांस लगानीकर्तामा अन्यौलता छाएको छ ।

मंगलबार तारागाउँको प्रतिकित्ता शेयर मूल्यमा २.८० प्रतिशत अर्थात ९ रुपैयाँको गिरावट आएको छ । बजार खुलेको केही समयसम्म तिब्र गतिमा ओरालो लागेको होटलको शेयर मूल्य केही बेर पछि कारोबार चाप बढे पछि केही सुधारिएको थियो ।

बजार चलिरहेका बेला शेयर मूल्य घटाएर शेयर किन्नेहरुको चाप अधिक देखिएको थियो । खरिद चाप अधिक भए पछि शेयर बिक्री गर्नेहरुले केही संयता अपनाएको देखिन्छ ।

कुल पाँच हजार कित्ता शेयर बिक्रीमा आएका बेला मूल्य घटाएर २५ हजार कित्ता खरिद गर्न चाहनेहरु आएका थिए । यस क्रममा ७ नम्बर, ४९ नम्बर तथा ४४ नम्बर लगायतका ब्रोकरले ठुलो संख्यामा तारागाउँको शेयर खरिद गरेका छन् ।

आम लगानीकर्ताहरु सामान्य सूचनाबाट प्रभावित हुने गरेको मौकालाई मंगलबार तारागाउँको शेयरमा प्रभावित पार्न खोजिएको प्रष्ट देखिएको छ । मजदुर र व्यवस्थापनको विवादकै कारण होटल पूर्ण रुपमा बन्द होला वा नहोला भन्नेमा यसका शेयरधनीले चासो दिनु् पर्ने देखिन्छ । हतारमा मूल्य घटाएर शेयर बिक्रीको निर्णय नलिनु उचित हुन्छ ।