एनएमबि क्यापिटलको ‘एनएमबि ५०’ म्युचुअल फण्डले पायो संचालन अनुमति, ५० कम्पनीको शेयरमा लगानी गर्ने

0
Shares

एनएमबि क्यापिटलले अर्को ‘एनएमबि ५० नामक म्युचुअल फण्ड संचालन गर्ने अनुमति पाएको छ । शेयर बजारमा लगानी गर्ने मुख्य उदेश्य रहेको यो फण्डले बजारका उत्कृष्ट पचास कम्पनीमा मात्र लगानी गर्ने प्रष्ट पारेको छ ।

नेपाल धितोपत्र बोर्डले एक अर्ब २० करोड रुपैयाँ बराबरको ‘एनएमबि ५०’ म्युचुअल फण्ड रहेको सामूहिक लगानी कोष संचालन गर्न अनुमति दिएको हो । जस अनुसार एनएमबि क्यापिटलले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँको १२ करोड इकाई बिक्री गर्नेछ ।

‘एनएमबि ५०’ कोष संचालनको अनुमति पाएसँगै कोष प्रबर्धक एनएमबि क्यापिटलले दुई महिना भित्रमा इकाई बिक्रीमा ल्याउनेछ। एनएमबि ५०’ सात वर्ष अवधिको बन्दमुखी योजना हो। यस योजनाको मुख्य लगानी शेयर बजारमा नै रहने क्यापिटलले जनाएको छ। यस योजनाले अनुसन्धान गरि अधिकतम ५० वटा त्यस्ता कम्पनीको शेयरमा लगानी गर्नेछ जसले इकाईधनीलाई अधिकतम लाभ दिन सकोस्।

एनएमबि क्यापिटलले हाल ५ वर्ष अवधिको एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड १ र ७ वर्ष अवधिको एनएमबि हाईब्रिड फण्ड एल १ सञ्चालन गरिरहेको छ । ७५ करोड आकारको एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड १, २०७६ कार्तिक ३ गते र एक अर्ब आकारको एनएमबि हाईब्रिड फण्ड एल १ परिपक्क हुने अवधि २०८० कार्तिक ८ गते रहेको छ।

एनएमबि क्यापिटल मर्चेन्ट व्यवसाय सञ्चालनका लागि एनएमबि बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको बैंकको सहायक कम्पनी हो।

पाइपलाईनमा अझै

हाल धितोपत्रको दोस्रो बजारमा १३ वटा सामूहिक लगानी कोष सञ्चालित रहेका छन् भने हालै मात्र नबिल ब्यालेन्सड फण्ड २ ले इकाई बिक्री गरि बाँडफाँड गरिसकेको छ भने सिटिजन्स म्युचअल फण्ड २ र पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्डको इकाई बिक्री खुला नै रहेको छ।

बोर्डको पाइपलाईनमा अझै लक्ष्मी उन्नति कोष, एनआईसी एशिया ब्यालेन्स फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २, र ग्लोबल आईएमई ब्यालेन्सड फण्ड आई अनुमतिको पर्खाइमा रहेका छन्।