बन्दाबन्दीको शुरुआतबाट निर्माण रोकिएको करीब साढे तीन महिनापछि लमजुङ जिल्लाको दोर्दी गाउँपालिका –६ ढोडेनीस्थित ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको कामले गति लिन थालेको छ ।
पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन दोर्दी करिडोरकै सबैभन्दा ठूलो सो आयोजनाका कर्मचारी लकडाउनमा घर गएकामा फर्किन थालेको तथा लकडाउन खुकुलो र निर्माण सामग्री ढुवानीमा सहज भएपछि तीव्र रुपमा काम हुन थालेको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख बाबुकृष्ण भण्डारीले भने, “गत चैत ११ गतेदेखि लकडाउन भएसँगै आयोजनाको काम रोकिए पनि यतिबेला कामले पहिलाको जस्तै गति लिन थालेको छ ।” यसअघि कामदार अभावका साथै आयोजनामा आवश्यक दैनिक निर्माण सामग्रीको ढुवानीमा समस्या भएका कारण काम रोकिएको थियो ।
लकडाउनमा घर गएका कामदार फर्किएपछि करिब ३०० जनाले काम गरिरहेको र अझै २०० कामदार घरबाट आउने तयारीमा रहेको आयोजनाले जनाएको छ।
हालसम्म ६० प्रतिशत निर्माण सम्पन्न भएको आयोजना प्रमुख भण्डारीको भनाइ छ । उनका अनुसार १० किलोमिटर लामो सुरुङमार्गमध्ये ८ किमी सम्पन्न भएको छ । त्यस्तै मेकानिकल र इलेक्ट्रोनिकलको काम, आवास भवन निर्माण, वित्तीय व्यवस्थापनलगायत काम भएको छ। पाइप बिच्छ्याउने, जलविद्युगृह निर्माण, ट्रान्समिसन लाइन लगायत ४० प्रतिशत काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
आठ अर्ब ८० करोडको लगानीमा निर्माणाधीन आयोजनामा नबिल बैंकको अगुवाइमा ९ बैंकले ऋण लगानी गरेका छन्। सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा बन्न लागेको आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको मात्र २७ करोड लगानी छ ।
लकडाउनले काम प्रभावित हुँदा निर्माण समयावधि र लगानीसमेत बढ्ने आयोजनाले जनाएको छ । विसं २०७१ मा विद्युत् खरीद सम्झौता (पिपिए) गरी २०७२ असोज महिनादेखि निर्माण थालनी गर्दै यही असार मसान्तमा सक्ने लक्ष्यका साथ सम्झौता भएको थियो। सम्झौतानुसार निर्धारित समयमा सम्पन्न नहुने भएको छ। आयोजनाले सुख्खा याममा ८ रुपैयाँ ४० पैसा तथा बर्खायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने भएको छ ।
प्रतिक्रिया