नेपाल स्टक एक्सचेञ्जमा साताको अन्तिम दिन बिहीबार तीन कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ। बिहीबार सूर्योदय लघुवित्त, एनआईसी एशिया लघुवित्त र वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो।
आज १७८ कम्पनीका २२ लाख २६ हजार २०३ कित्ता शेयर १४ हजार ६६३ पटक खरीद बिक्री हुँदा ९० करोड ८० लाख ८६ हजार १९७ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबारको तुलनामा कारोबार रकम १७ करोड ३ लाख ७५ हजार ९४४ रुपैयाँले घटेको हो।
नेप्से परिसूचक ४.५७ अंकले बढेर १३३१.१० बिन्दुमा पुगेको छ भने ठूला कम्पनीहरुको सूचक माप सेन्सेटिभ इन्डेक्स पनि ०.४७ अंकले सकारात्मक भई २८०.४१ अंकमा बन्द भएको छ। ६२ कम्पनीका लगानीकर्ताले गुमाएको बजारमा ९३ कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले भने नाफा कमाएका छन्।
बिहीबार पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३ लाख २ हजार ५७१ कित्ता शेयर १५ करोड १८ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छ। जुन बिहीबार भएको कूल करोबारको २० प्रतिशत हो।
यसैगरि नेपाल लाईफको ९ लाख ४८ हजार, छिमेक लघुवित्तको ६ करोड ४१ लाख, एनआईसी एशिया बैंकको ३ करोड ४८ लाखको कारोबार भएको छ। एनएमबि बैंक, हिमालयन डिष्टिलरी, नबिल बैंक, शिवम् सिमेन्टस्, साना किसान लघुवित्त, र सूर्या लाईफ इन्स्योरेन्सको शिर्ष १० कारोबार भएको छ। दशौं ठूलो कारोबार भएको सूर्या लाईफको १ करोड ७० लाख बढीको शेयर खरीद बिक्री भएको छ।
ब्यापार र बैंकिङ्ग उपसमूहको सूचक ऋणात्मक भएको बजारमा बाँकी दशवटै उपसमूहका सूचक सकारात्मक बनेका छन्। म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधनको सूचक १ प्रतिशत बढी बढेको बजारमा होटल विकास बैंक, जलविद्युत, वित्त, निर्जीबन बीमा, अन्य लघुवित्त, र जीबन बीमाको सूचक पनि १ प्रतिशत भन्दा थोरैले बढेका छन्।
बिहीबारको बजारमा गुहेश्वरी मर्चेन्ट, एनएमबि माइक्रोफाइनान्स, तिनाउ विकास बैंक, सानिमा इक्वीटी फण्ड, जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, र युनाइटेड फाइनान्सको शेयरमूल्य पनि ५ प्रतिशतले बढ्यो।
उता ग्लोबल आईएमई समुन्नत योजना १ को इकाइमूल्य सबैभन्दा धेरै ३.८५ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोपावर, रिडी हाइड्रोपावर, सबैको लघुवित्तको पनि ३ प्रतिशत बढीले शेयरमूल्य घट्यो। आजको बजारमा गुँरास लघुवित्त, कालिका लघुवित्त,साल्ट ट्रेडिङ्ग, पोखरा फाइनान्स, राष्ट्रिय बीमा कम्पनी संस्थापक र प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले पनि २ प्रतिशत धेरैले गुमाएका छन्।
प्रतिक्रिया