बैंकहरुमा ३८ अर्ब तरलता, अन्तरबैंक ब्याजदर साढे ६ प्रतिशत तल झर्यो

0
Shares

बजेटमा छुट्याइएको विकास खर्च भुक्तानी बढ्दा बैंकहरुमा लगानीयोग्य रकम थपिन थालेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ३८ अर्ब तरलता छ । अघिल्लो साता २३ अर्बमा तरलता खुम्चिएको थियो। एक सातामा वित्तीय प्रणालीमा १५ अर्ब तरलता थपिएको हो ।

यसैगरि साढे ७ प्रतिशत पुगेको वाणिज्य बैंकहरुको अन्तरबैंक ब्याजदर पनि घटेर ६.५ प्रतिशतभन्दा तल झरेको केन्द्रिय बैंकले जनाएको छ ।
सरकारले पूँजीगत खर्चको रकम भुक्तानी दिने क्रम केही बढाएकाले बैंकहरुको निक्षेपमा सुधार देखिएको हो । तर गत वर्षको भन्दा बैंकहरुमा निक्षेप बढ्ने क्रम भने सुस्त छ । आर्थिक वर्षको सकिन एक महिना समय रहँदा बैंकहरुले कर्जा विस्तारमा संयमित देखिएपछि तरलतामा सुधार देखिएको हो।

बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत घटेर ७७.५० मा आइपुगेको छ । बैंकर्स एशोसिएसनका अनुसार वाणिज्य बैंकहरुले जेठ महिनामा ५१ अर्ब निक्षेप संकलन गरेर २१ अर्ब कर्जा लगानी गरेका छन् ।

गत वैशाखमा बैंकहरुमा ५ अर्ब निक्षेप थपिँदा २७ अर्ब कर्जा विस्तार भएको थियो । चैत्रमा २९ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २२ अर्ब कर्जा लगानी गरेका थिए भने फागुनमा ४ अर्ब निक्षेप उठाएका बैंकहरुले ९ अर्ब कर्जा परिचालन गरेका थिए ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बैंकहरुले कुल २७ खर्ब ५९ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । चालु आर्थिक वर्ष अर्थात श्रावण यता बैंकहरुमा २८९ अर्ब निक्षेप थपिएको छ भने ३५७ अर्ब कर्जा परिचालन गरेका छन् ।

एघार महिनाको अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा ६८ अर्ब रुपैयाँ बढी रकम कर्जा परिचालन गरेका छन् । जेठको अन्तिम साता बैंकहरुमा पाँच अर्ब निक्षेप थपिएको छ भने कर्जा विस्तार ३ अर्बले बढेको छ ।