चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिने, यस्ता छन् प्राथमिकता

0
Shares

चालु आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते शुक्रबार सार्वजनिक गरिने भएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण देशको अर्थतन्त्रमा आएको उथलपुथलको अवस्थामा गभर्नर अधिकारीले आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै छन् । 

कोरोना महामहारीले अर्थतन्त्रमा आएको शिथिलतालाई पुर्नजागृत गर्नेगरी मौद्रिक नीति आउने अपेक्षामा निजी क्षेत्र रहेको छ । आगामी चार वर्षका लागि गत चैत २४ मा गभर्नर नियुक्त भएका महाप्रसाद अधिकारीको पहिलो मौद्रिक नीति पनि हो।

गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिले आन्तरिक उत्पादन तथा रोजगारी प्रवद्र्धन हुने र उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीयस्रोत केन्द्रित गर्न जोड दिने बताउँदै आएका छन् ।

उनले मौद्रिक नीति तर्जुमा गर्दा नेपाल सरकारको १५ औं योजना, वित्तीय क्षेत्र विकास रणनीति आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम र बजेट, बैंकको तेस्रो रणनीतिक योजनासँग सामन्जस्यता कायम राखिने जानकारी गराएका छन्।

अन्तर्राष्ट्रिय तथा आन्तरिक अर्थतन्त्रको विद्यमान अवस्था एवं परिषद्लाई आधार मानी मौद्रिक नीति तर्जुमा गर्ने राष्ट्र बैंकको नीति छ।

कोभिड–१९ संकटले सिर्जना गरेको अनिश्चितताका बीच यस वर्ष मौद्रिक नीति तर्जुमा भइरहेको छ । यस संकटमा प्रभावित क्षेत्रहरुलाई प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी बचाइ राख्ने साथै शीघ्र आर्थिक पुनरुत्थानका लागि वित्तिीय साधनको उपलब्धता बढाउने दिशामा मौद्रिक नीति केन्द्रित गनुपर्ने देखिन्छ।

मौद्रिक नीतिले नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक तथा कर्जा व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकलाई छ।

मौद्रिक नीति आन्तरिक उत्पादन तथा रोजगारी प्रवद्र्धन हुने र उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीयस्रोत केन्द्रित गर्ने, मूल्य तथा वाह्य क्षेत्र स्थायित्वमा जोखिम नआउने गरी वित्तीय सहजीकरण गर्ने दिशामा साष्टित विवेकशील नियमनका उपायहरु अपनाउनु पर्ने देखिन्छ ।

यस्तै, वित्तीय मध्यस्थता लागत कम गर्न वित्तीय सुदृढीकरणका उपायहरुको रुपमा अवलम्बन गरिँदै आएको मर्जर तथा प्राप्तिलाई थप गति दिनुपर्ने अवस्था छ। डिजिटाइजेसनमार्फत नगदमा हुने कारोबार न्यूनीकरण गर्नु मौद्रिक नीतिको प्राथमिकता रहने पनि गभर्नर अधिकारीको भनाई छ।

कोभिड–१९ बाट अधिकांश क्षेत्रहरु प्रभावित भएको विद्यमान परिवेशमा मौद्रिक नीति प्रतिअपेक्षा बढेको छ । यस पृष्ठभूमिमा केन्द्रीय बैंक मूल्य वाह्य क्षेत्र तथा वित्तीय स्थायित्व कायम रहने गरी अर्थतन्त्र चलायमान बनाउने दिशामा अघि बढ्ने गरी मौद्रिक नीति तर्जुमा गर्नुपर्नेछ ।