आठ शेयर दलाल कम्पनीलाई मार्जिन सेवा सञ्चालनका लागि नेप्सेको अनुमति


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आठ ब्रोकर कम्पनीलाई मार्जिन कारोवारका लागि अन्तिम स्वीकृति दिएको छ । एक कार्यक्रमका बिच नेप्सेले आठ वटा शेयर दलाल कम्पनीहरुलाई मार्जिन कारोबार सेवाको अनुमति दिएको हो ।

नेप्सेको अन्तिम स्विकृती पाएसँगै ब्रोकर कम्पनीहरुलाई सेवा सुरु गर्ने बाटो खुलेको छ । पूँजी बजारको विषयमा अध्ययन गर्न गठित कार्यदलको सुझाब र लगानीकर्ता तथा ब्रोकरको मागको आधारमा नेप्सेले ब्रोकरहरु मार्फत मार्जिन कारोबारको सुविधा उपलब्ध गराएको हो ।

अब धितोपत्र दलाल कम्पनीले आफ्नो इक्युटी र बैंक मार्फत ऋण लिएर मार्जिन कारोबारको काम गर्न सक्छन । अहिले तत्कालका लागि भने ब्रोकर कम्पनीले इक्युटी मार्फत नै काम सुरु गर्ने योजनामा शेयर दलालहरु छन् ।

बिहीबार मार्जिन कारोबारको स्विकृती पाउनेमा क्रिष्टल कंचनजंगा, भिजन सेक्यूरिटिज, श्रीकृष्ण सेक्यूरिटिज, नेपाल स्टक हाउस, प्राइमो सेक्यूरिटिज, सेक्वर्ड सेक्यूरिटिज, दिपशिखा सेक्युरिटिज र कोहिनुर सेक्यूरिटिज छन ।

बाँकी एक दर्जन भन्दा धेरै कम्पनीहरु पाइपलाइमा रहेको नेप्सेले जनाएको छ । अर्को चरणमा यस्तो सुविधा पाउनेमा नासा सेक्युरिटिज, सुमेरू सेक्यूरिटिज, अनलाइन सेक्यूरिटिज, आर्यातारा इन्भेष्टमेन्ट, इम्पेरियल सेक्यूरिटिज, दिव्या सेक्यूरिटिज लगायत छन् ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अन्य ब्रोकर कम्पनीहरुलाई पनि मार्जिन कारोबारमा सहभागी हुन आग्रह गरेका छन् ।

कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश दिएको कम्पनीलाई मार्जिन दिन सकिने व्यवस्था छ ।

आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीको शेयरमा मात्रै लगानीकर्ताले मार्जिन सुविधा पाउने प्रावधान छ । मार्जिन सेवा अन्तरगत प्रवाह हुने कर्जा बढीमा तीन महिनासम्मको लागि दिइनेछ । तीन महिनापछि यसलाई नवीकरण गर्नुपर्ने हुन्छ । मार्जिन ट्रेडिङकोे लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गरेको हुनुपर्नेछ ।