कामनाको नगद लाभांश शेयरधनीको खातामा


कामना सेवा विकास बैंकले शेयरधनीहरुको बैंक खातामै नगद लाभांश वितरण सुरु गरेको छ । बैंकले गत आवको नाफाबाट वितरण गर्ने प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश असार १९ गते बिहीबारदेखि वितरण थालेको हो ।

कामना विकास बैंक र सेवा विकास बैंक २०७४ साउन २० गतेदेखि एकीकृत कारोबार थालनी गरेकाले आयकर ऐन २०५८ बमोजिम कर नलाग्ने शेयरधनीलाई सोही बमोजिम र कर लाग्ने शेयरधनीको कर कट्टा गरि लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिएको बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलले जनाएको छ ।

बोनस शेयर भने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा सूचीकरण पछि मात्र वितरण गरिने बैंकले जनाएको छ । विकास बैंकको असार १४ गते सम्पन्न वार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साथै हालसम्म कागजी शेयर धारण गरेका शेयरधनीलाई डिम्याट गरेपछि मात्र नगद लाभांश वितरण हुने तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीको हकमा बैंक खाता अद्यावधिक पश्चात क्रमश लाभांश वितरण गर्ने जनाइएको छ । यसैगरि शेयरकर्जा लिएका शेयरधनीले फुकुवापत्र पेश गरेपश्चात मात्र लाभांश वितरण हुने बताइएको छ ।

बैंकले बुकक्लोज मितिसम्ममा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा उल्लेख भएको बैंक खातामा सो नगद लाभांश जम्मा गर्न थालिएको जनाइएको छ।

 

प्रकाशित मिति: २२ असार २०७६, आइतबार  १२ : १३ बजे