नेपाल पुर्नबीमा कम्पनीले १६० करोडको आईपीओ निष्काशन प्रक्रिया थाल्यो

0
Shares

नेपाल पुर्नबीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि आइतबार नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ ।

गत जेठ ३१ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारण सभाले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो । शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब र चुक्ता पूँजी ८ अर्ब ४० करोड छ। प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपि आईपिओ ग्रेड २’ रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा माथि रहेको जनाउँछ।

कम्पनीले गत आर्थिक वर्षमा जीवन बिमातर्फ १९ करोड ११ लाख ६५ हजार रुपैयाँ र निर्जीवन बिमातर्फ ९८ करोड ६८ लाख ६९हजार रुपैयाँ खुद नाफा कमाएको छ । असार मसान्त सम्ममा जीवन बीमा व्यवसायबाट ४० करोड ७३ लाख ७७ हजार रुपैयाँ र निर्जीवन बिमाबाट ५ अर्ब १२ करोड ३२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

 

प्रकाशित मिति: २३ भदौ २०७६, सोमबार  १४ : ५७ बजे