नेपाल राष्ट्र बैंकले बैंकहरुलाई साइबर सुरक्षाका साथै प्रविधिमा पर्याप्त लगानी बढाउन निर्देशन दिएको छ। एटीएम ह्याक गरी करोडौँ रकम चोरीएको घटनालाई लिएर बैंक तथा वित्तीय संस्थाहरुसँग सोमबार भएको छलफलमा राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो।
सो छलफलमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकरहरुलाई बैंकिङ प्रविधिको सुरक्षा सुनिश्चित गर्न र आवश्यक लगानी गर्न निर्देशानात्मक सुझाब दिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
छलफलमा सहभागि बैंकरहरुले पनि ह्याकिङको घटनाबाट आफुहरु गम्भीर भएको बताउँदै बैंकिङ सेवालाई सुरक्षित बनाउन दृढ रहेको बताएका थिए।
त्यस्तै चिनियाँ ह्याकरले प्रयोग गरेको स्विच ’नेप्स’ लाई समेत विद्यमान प्रणालीको विकल्प खोज्न राष्ट्र बैंकले निर्देशन दिएको छ। आफ्नो सिस्टम को विकल्प खोजेर भदौ १४ देखि एटिएममा रोकिएको अन्तर बैंक सेवा पनि तत्कालै सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
अघिल्लो साता भएको एटीएम ह्याकिङले नेपाली बैंकिङ क्षेत्रलाई नै सशंकित बनाएको थियो। चिनियाँ नागरिकहरुले एटिएम ह्याक गरी आधा दर्जन बढी बैंकको कार्ड प्रयोग गरेर नेपाल तथा भारतबाट साढे तीन करोडभन्दा बढी रकम निकालेका थिए।
एटीएम ह्याकिङको अनुसन्धान गर्न राष्ट्र बैंकले सिगापुरबाट फरेन्सी एक्सपर्टलाई बोलाएको थियो । जसको प्रतिबेदन आउन ३ महिना लाग्ने बताइएको छ।
प्रतिक्रिया