सामाजिक सुरक्षामा सहभागि हुन सिएनआइले आह्वान गर्ने


नेपाल उद्योग परिसघंले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका लागि आह्वान गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलमा परिसघंका अध्यक्ष शतिषकुमार मोरले सामाजिक सुरक्षा योजनाप्रति उद्योगी निकै सकारात्मक भएका उल्लेख गर्दै सबै उद्योगीलाई कोषमा आवद्ध हुन विशेष आह्वान गर्ने बताए ।

परिसघले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि योजनाबद्ध रुपमा सहयोग गर्दै आएको छ । परिसघंकै सहयोगमा पोखरा, विराटनगरलगायत मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा योजना कार्यान्वयनका बारेमा वृहद छलफल भएको थियो । सो छलफलमा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा परिसघंले गरेको सहयोगको प्रसंशा गर्नुभएको थियो ।

सामाजिक सुरक्षा योजनाले श्रमिकको उत्पादकत्व वृद्धि हुनेमा ढुक्क हुन विश्वास दिलाउँदै उनले सूचीकरणमा ढिलाइ नगर्न आग्रह गरेका हुन । सामाजिक सुरक्षा योजना नौलो भए पनि कार्यक्रम आरम्भकै चरणमा भएकाले केही अलमल देखिनु स्वभाविक भएको उल्लेख गर्दै मन्त्री विष्टले संवाद र छलफलका माध्यमबाट योजनालाई थप परिस्कृत गर्दै लैजाने बताएका थियो । परिसघंको टोलीले योजनाका व्यवहारिक कार्यान्वयनमा केही कठिनाई देखिएको भन्दै सहजीकरणका लागि आग्रह गरेको थियोे ।

योगदानकर्ताले बढीभन्दा बढी लाभ प्राप्त गर्ने गरी योजनालाई परिमार्जन गर्न सुझाव दिइएको थियो । सो क्रममा मन्त्रालयका सचिव विनोद केसी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले उद्योगीले राखेका जिज्ञासाको समाधान गरेका थिए । सामाजिक सुरक्षा कोषले रोजगारदाता तथा श्रमिकको सूचीकरणका लागि आगामी मङ्सिर १४ गतेसम्मको समयसीमा तोकेको छ । कोषमा अहिलेसम्म १० हजारभन्दा बढी प्रतिष्ठान र एक लाखभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन् ।

प्रकाशित मिति: २५ कात्तिक २०७६, सोमबार  १७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।