शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तोरोन्नती

0
Shares

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तोरोन्नती भएको छ । पूर्णिमा र भार्गव विकास बैंकलाई गाभेपछि चुक्ता पूँजी दुई अर्ब ६२ करोड पुगेको बैंकले आज देखि राष्ट्रियस्तरको विकास बैंकका रुपमा औपचारिक कारोबार थालेको छ ।

नेपाल राष्ट्र बैंकबाट शाइन रेसुङ्गाले गत मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार गर्ने इजाजत पाएको थियो । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकसँग सिद्धार्थनगर स्थित पूर्णिमा विकास बैंक र नेपालगञ्ज स्थित भार्गव विकास बैंक गाभिएका थिए ।

राष्ट्रियस्तरको विकास बैंकमा स्तोरोन्नती भएको बैंकको चुक्ता पूँजी २ अर्व ६२ करोड, निक्षेप परिचालन २६ अर्व ९० करोड, कर्जा लगानी २४ अर्व १७ करोड पुगेको छ। ग्राहक संख्या ३ लाख ८० हजार भएको बैंकका शाखा कार्यालय ७० पुगेको छ भने एक एक्सटेन्स काउन्टर संचालनमा रहेको छ । 

राष्ट्रियस्तरको विकास बैंकमा स्तोरोन्नती भएको बैंकले काठमाडौं र पोखरमा तत्काल शाखा कार्यालय स्थापना गर्ने योजनामा रहेको बैंकका डेपुटी जनरल म्यानेजर सार्जन भट्टराइले नोटबजारलाई जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालय भने रुपन्देहीको बुटवल उप-महानगरपालिका ६ मा रहने छ ।

राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गरेसँगै बैंकले हाल कायम चुक्ता पूँजीको ४ः१ (२५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने योजना समेत अघि सारेको छ । उक्त प्रस्ताव बैंकले आगामी साधारण सभामा लग्ने जनाएको छ ।

२०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भइ १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।

शाइन रेसुङ्गाले प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो । बैंकले असोज २७ गते सोमबारदेखि पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार थालेको थियो ।

बैंकको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् भने अन्य संचालकहरुमा थानेश्वर पौडेल, डा. तारा प्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई र सुदर्शन गौतम रहेका छन् । चापागाई र गौतम सर्वसाधारण समुहबाट संचालक भएका हुन् भने अन्य संस्थापक शेयरधनी समुहबाट संचालक भएका हुन् । त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल रहेका छन् ।

 

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार  १२ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।