मास प्रिन्टरबाट अझै हुन सकेन स्मार्ट लाइसेन्स छपाई, ८ लाख लाइसेन्स बितरण हुन बाँकी


यातायात व्यवस्था विभागले मास प्रिन्टरबाट स्मार्ट लाइसेन्स छपाई सुरु गरे पनि प्रविधिक कारणले लाइसेन्स छपाई हुन सकेको छैन ।

विभागले लामो समय पछि मास प्रिन्टरबाट यसै सातादेखि लाइसेन्स छपाई सुरु गरिएको जनाएको थियो ।

विभागले लाइसेन्स छपाई सुरु भएको बताए पनि प्रिन्टरबाट अझै नियमित रुपमा लाइसेन्स छपाई हुन नसकेको हो । यातायात व्यवस्था विभागका कर्मचारीहरुका अनुसार लाइसेन्स प्रिन्टको काम अझै नियमित हुन सकेको छैन ।

नोटबजारसँग कुरा गर्दै विभागका एक कर्मचारीले भने, ‘सबै तयारी गरिए पनि प्रिन्टरले नियमित रुपमा कार्ड छाप्न सकेको छैन । यो साताबाट नियमित रुपमा लाइसेन्स छपाई सुरु गरिएको भए पनि प्रिन्टरमा आएको समस्याका कारण नतिजाउन्मुख काम गर्न सकिएको छैन ।’

विभागले ७ करोड रुपैंयामा मास प्रिन्टर ल्याएको थियो । स्मार्ट लाइसेन्स छपाई सुरु गर्ने योजना अघि बढेसँगै विगत ४ वर्षदेखि विभागले भारतको मद्रास सेक्युरिटि प्रिन्टरर्सलाई लाइसेन्स छपाईको काम दिँदै आएको छ । तर मद्रासले अपेक्षित रुपमा काम गर्न नसकेका कारण चार वर्षको समयमा दैनिक २ हजार हाराहारी पनि लाइसेन्स प्रिन्ट हुन सकेको थिएन । जबकी दैनिक ५ हजारभन्दा बढीले स्मार्ट लाइसेन्सका लागि आवेदन दिँदै आएका छन् ।

गत असार मसान्त पछि स्मार्ट लाइसेन्स छपाईको काम बन्दप्रय अवस्थामा छ । मद्रासले यस अघि मास प्रिन्टर ल्याए पनि कार्ड नल्याएका कारण स्मार्ट लाइसेन्स छपाई हुन सकेको थिएन । अहिले कार्ड आए पनि प्रिन्टर सञ्चालनमा प्रविधिक कठिनाई आएका कारण लाइसेन्स छपाई हुन नसकेको हो ।

मद्रासले विभागको लाइसेन्सको सबै डाटा आफ्नो भारतमा रहेको कार्यालयबाट काठमाण्डौंमा पठाउँदै कार्ड प्रिन्ट गर्दै आएको थियो । यसका लागि केही प्राविधिक मिनभवनस्थित विभागको कार्यालयमा रहे पनि उनीहरुले कुनै पनि किसिमको समस्यामा आएमा आफै.ले तत्काल समाधान गर्न सक्दैनन् ।

भारतमा रहेको मद्रासको कार्यालयमा उनीहरुले समस्याको जानकारी गराए पछि उताबाट समाधानको पहल हुन्छ । तर प्राथमिकताका साथ काम हुँदैन । जसका कारण लाइसेन्स छपाई महिनौंदेखि अबरुद्ध भएको हो ।

विभागले चाहेर पनि प्राविधिक विषय भएका कारण नतिजाउन्मुख काम हुन नसकेको अर्का एक कर्मचारीले नोटबजारलाई बताए । ‘पटक पटक नतिजाउन्मुख काम नभएको भन्दै मद्रासलाई चेतावनी दिए पनि नतिजा देखिएको छैन । यसले सेवाग्राहीलाई समस्या बुझाउन पनि हामीलाई समस्या भएको छ ।’ 

मास प्रिन्टर पूर्ण रुपमा सञ्चालनमा आएको खण्डमा प्रतिघण्टा ४५० वटाको दरमा एक दिनमा ८ घण्टामा ३ हजार ६०० लाइसेन्स प्रिन्ट थपिने विभागको अपेक्षा छ । प्रिन्ट हुन बाँकी रहेको झण्ण्डै ८ लाख हाराहारी लाइसेन्स केही महिनामा बितरण गरिसक्ने यस अघि विभागले पटक पटक बताउँदै आएको छ । मास प्रिन्टर सञ्चालनमा ल्याएर अहिले पनि स्टकको लाइसेन्स बितरण गरिसक्ने विभागले योजना बनाए पनि सेवाग्राहीले भने २ वर्षसम्म लाइसेन्स पर्खिनु पर्ने अवस्था देखिएको छ ।

अहिले १५ महिना यता लाइसेन्सका लागि आवेदन दिएकाहरुले पाउन सकिरहेका छैनन् ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार  १४ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।