‘बैशाख २८ गतेदेखि शेयर बजार खुल्छ, लगानीको तयारी गर्नुस्’ चन्द्रसिंह साउद


यही बैशाख २८ गते आइतबारदेखि शेयर बजार खुल्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिले गरेको निर्णय अनुसार बैशाख २८ गतेदेखि शेयर बजार खुल्ने भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बैशाख २८ गतेदेखि शेयर बजार खोलिने बताएका हुन् । अहिलेको संकटपुर्ण अवस्था कहिलेसम्म लम्बिन्छ भन्ने निश्चित नभएको अवस्थामा शेयर बजारलाई पनि सँधै बन्द राख्न नहुने उनको भनाई छ ।

नोटबजारसँगको कुराकानीमा साउदले भने ‘लकडाउनसँगै बजार बन्द भएको डेढ महिना बित्छ । यो संकट कहिलेसम्म लम्बिने हो निश्चित छैन । त्यसैले बजार सँधै बन्द हुने अवस्थालाई मध्यनजर गरेर खोल्ने निर्णय भएको हो ।’

उनले लगानीकर्तालाई लगानीका लागि तयार हुन आग्रह समेत गरेका छन् । लकडाउन केही खुकुलो हुने भएकाले बजार सञ्चालनमा कठिनाई नहुने उनको भनाई छ ।

शेयर दलाल, केन्द्रिय निक्षेप प्रणाली तथा सम्बद्ध पक्षहरुसँगको छलफलबाट बजार खुल्ला गर्ने निर्णय गरिएको उनले बताए । मेरो शेयर लिएका लगानीकर्ताले इडिआईएस बाट शेयर राफसाफ गराउनुका साथै क्लियरिङ हाउसको कनेक्ट आईपीएस प्रणालीबाट रकम भुक्तानीको व्यवस्था गराउन सकिने उनले बताए । यसका लागि क्लियरिङ हाउसले १ बजे सम्मको कारोबार र राफसाफ गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए । यसका लागि आवश्यक वाताबरण बनाउन केन्द्रिय निक्षेप प्रणालीलाई नेप्सेले निर्देशन दिइसकेको पनि साउदले जानकारी दिए ।

शेयर दलाल तथा सम्बद्ध पक्षका कर्मचारीहरुलाई सहज रुपमा आवत जावत गर्नका लागि पास उपलब्ध गराउने व्यवस्था भइरहेको पनि उनले जानकारी दिए ।