सरकार समस्यामा परेपछि बैंकर र व्यवसायीले तिर्ने भए कर

0
Shares

वाणिज्य बैंकहरुका प्रमुख कार्यकारीहरुको छाता संगठन नेपाल बैकर्स संघले आफ्ना सदस्य बैंकहरुलाई कर तिर्न आग्रह गरेको छ ।

संघको बुधबार बसेको बैठकले तेस्रो त्रैमासिक अवधि अर्थात चैत मसान्तसम्म बैंकहरुले सरकारलाई बुझाउनुपर्ने कर तिर्न सम्पूर्ण वाणिज्य बैंकहरुलाई आग्रह गर्ने निर्णय गरेको बैठकमा सहभागी एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

सरकारले कोरोना भाइरस रोकथाम रोकथाम तथा नियन्त्रणका लागि लागि गत चैत ११ गतबाट लकडाउन लागू गरेपछि बैंकहरुले कर बुझाएका थिएनन् ।

वाणिज्य बैंकहरुले तेस्रो त्रैमासिक अवधिसम्म कर अघि ६४ अर्ब २३ करोड खुद नाफा गरेका थिए। बैंकहरुले यो नाफाबाट करका लागि १८ अर्ब ९८ करोड छुट्याएका थिए।

आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ र १५ गतेसम्म तोकेपनि सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्दा हुने आदेश दिएको छ।

यता नेपाल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि राजस्व तिर्न सक्ने उद्यमीले राजश्व तिर्न सुझाब दिएका छन्। गोल्छाले ट्वीट गर्दे सर्वोच्च अदालतको आदेशले कठिन अवस्थामा व्यवसायीलाई केहि सहज बनाईदिए पनि कर तिरेर सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।

सहकार्यबाटै संकट टर्ने बताउँदै गोल्छाले कर तिर्न सक्ने उद्यमी व्यवसायीलाई राजश्व बुझाएर सरकारलाई सहयोग गर्न आग्रह गर्दै तत्काल कर तिर्न नसक्नेहरुका लागि भने सरकारलाई समस्या सुनिदिन आग्रह समेत गरेका छन्।

केहि दिन अघि प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई दैनिक खर्च समेत जुटाउन मुस्किल परेको बताएका थिए। लकडाउनका कारण कर तथा राजश्व नउठेर सरकार समस्यामा परेपछि निजी क्षेत्रका संस्थाहरु नै कर तिर्न अग्रसर देखिएका हुन् ।