नेप्सेद्वारा श्रीराम सुगर मिल्स बन्द गर्नुको कारण माग

-नोटबजार संवाददाता।
काठमाडौं।
१६श्रावण, २०७७, शुक्रबार / Jul 31, 2020 16:13:pm

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले श्रीराम सुगर मिल्स बन्द गर्नुको कारण माग गरेको छ । नेप्सेले उद्योग बन्द गर्नु परेको विस्तृत विवरण तथा सञ्चालक समितिले निर्णय गरेको माइन्युटसमेत माग गर्दै पत्राचार गरेको हो ।

धितोपत्रको दोस्रो बजारमा सूचीकृत श्रीराम सुगर मिल्सले कम्पनी निरन्तर घाटामा रहेको र उच्च आर्थिक दायित्वका कारण सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै स्थायी रुपमा बन्द गरेको घोषणा गरेको थियो ।

कम्पनीले बन्द गर्ने घोषणा गरेलगत्तै नेप्सेले सर्वसाधारणको समेत लगानी रहेको कम्पनीसँग कम्पनी बन्द गर्नुपर्ने कारणको विस्तृत विवरण र सञ्चालक समितिको निर्णयसमेत माग गरेको नेप्सेका एक अधिकारीले बताए । सर्वसाधारणको लगानी रहेको कम्पनी पर्याप्त जानकारी बिना नै बन्द गरेको हुनाले विस्तृत विवरण माग गरिएको ती अधिकारीले बताए । त्यसका साथै नेप्सेले कम्पनीको सम्पूर्ण विवरण पनि अध्यावधिक गर्न निर्देशन दिएको छ ।

नेप्सेमा उत्पादनमूलक समूहमा सूचीकृत कम्पनी स्थापना भएको करिब २८ वर्ष भएको छ । कम्पनीमा सरकारी लगानी रहेको वीरगन्ज चिनी कारखानाको समेत लगानी छ । नेपाल स्टक एक्सचेन्जको स्थापनाभन्दा अघि धितोपत्र खरिद बिक्री केन्द्र हुँदा सूचीकृत भएको कम्पनीले सर्वसाधारणबाट पैसा संकलन गरेको भए पनि लाभांश दिएको इतिहास भने छैन ।

तर, धितोपत्र बजारमा सबैभन्दा पहिला डिवेञ्चरमार्फत पूँजी संकलन गर्ने पहिलो कम्पनी हो । कम्पनीमा सर्वसाधारणको करिब ९ प्रतिशत शेयर स्वामित्व रहेको भनिए पनि कम्पनीले पहिलो चरणमा प्रतिकित्ता ५० रुपैयाँ मात्र उठाएको थियो । कम्पनीले दोस्रो चरणमा कायम रहेका सेयधनीबाट अंकित मूल्य एक सय रुपैयाँ कायम गर्दै पुनः ५० रुपैयाँ मागेको थियो । त्यो अवस्थामा धेरै लगानीकर्ताले बाँकी रहेको ५० रुपैयाँ भुक्तानी नगरेपछि शेयर संख्या घटाएको थियो । संख्याका आधारमा पनि कम्पनीमा करिब १ हजार सर्वसाधारणको लगानी छ ।

गोल्छा र अग्रवाल समूहको लगानी रहेको कम्पनी निरन्तर घाटामा गएको तथा नगदेबालीको रुपमा रहेको उखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ भने अवकाश प्राप्त कर्मचारीहरुको ७० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । कम्पनीको कुल घाटा २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ रहेको जनाएको छ । कम्पनीको आर्थिक जटिलतामा फसेका कारण सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै स्थायी रुपमा बन्द भएको सूचना कम्पनीमा टाँसेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments