बुधबार अर्थमन्त्रीमा नियुक्त भएका बिष्णु पौडेल को हुन् ?

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२८आश्विन, २०७७, बुधबार / Oct 14, 2020 19:33:pm

देविलाल र रेवती पौडेलका छोरा विष्णु प्रसाद पौडेलको जन्म विसं २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलिबजार १३ मा भएको हो ।
पौडेल स्कूल पढ्दा पढ्दै भूमिगत राजनीतिमा होमिए । २०३३ सालदेखि राजनीतिमा सक्रिय पौडेलले २०३७ सालमा ३ वर्ष राजकाजको मुद्धा खेपेका थिए । सो समयमा ३ हजार रुपैयाँ जरिवाना सहित भैरहवा जेल चलान भएपछि ४५ दिनको परिश्रमपछि उनले जेल बिद्रोह गरेका थिए ।

विसं २०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि हाल अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए ।

नेकपा महासचिव विष्णु पौडेल संसदीय राजनीतिमा ०५१ सालबाट प्रवेश गरेका हुन् । उनी २०५१ सालमा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेर प्रतिनिधि सभा सदस्य बनेकाथिए । विसं २०५६ मा रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ बाट ६०० मतले सो समयमा पराजित भए ।

पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृती मन्त्री समेत बनेका थिए । उनी २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री र झलनाथ खनालको पालामा रक्षामन्त्री समेत बनेर कार्य गरिसकेका व्यक्ति हुन् ।

विसं २०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र २०७१ को नवौं महाधिवेशनबाट पौडेल उपमहासचिव निर्वाचित भए । २०७५ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाएपछि नेकपामा विष्णु पौडेलको चर्चा चुलियो । सो बेला पूर्व एमालेका महासचिव ईश्वर पोखरेललाई पाखा लगाउँदै पौडेल महासचिवमा चयन भएका थिए ।
नेतृत्वको विश्वासमा रहेर काम गर्ने र मिडिया जगतबाट टाढा रहने स्वभाव पौडेलको छ । विसं २०७२ मा ओली प्रधामन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएपछि पार्टी र बाहिर पनि उनको व्यक्तित्व थप माथि उठ्यो ।

उनी २०६४ सालको संविधानसा चुनावमा रुपन्देही क्षेत्रबाट विजयी भएका थिए । वाम गठबन्धनबाट पछिल्लो पटक विसं २०७४ मा रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका पौडेलले नेपाली कांग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतान्तरले पराजित गरेका थिए । उनी रुपन्देहीबाट नै तीन पटक (२०६४, २०७० र २०७४) निर्वाचित भैसकेका छन् ।

बिष्णु पौडेलको योगदान एमाले माओवादी एकताका लागि समेत धेरै रहेको छ । सो समयमा पार्टी एकताका लागि जनार्दन शर्मा र पौडेलले धेरै मेहनत गरेका थिए । एक अर्कामा भेट्न समेत नमान्ने ओली र प्रचण्डलाई पौडेल र शर्माको अथक प्रयासबाट नै एमाले ६० र माओवादी ४० प्रतिशत सिट सहित एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने वातावरण सिर्जना गर्यो ।

लामो समय लो प्रोफाइल नेताका रुपमा रहेका पौडेललाई ललिता निवास प्रकरणमा मुछिएपछि भने विवादित बनायो । सरकारी जग्गा फिर्ता ल्याउन गठित शारदाप्रसाद त्रिताल समितिको प्रतिवेदन अनुसार गत २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद बैठकबाट बालुवाटारको ११३ रोपनी जग्गा किनबेच रोक्का गरेपछि बालुवाटारको जग्गामध्ये ८ आना जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलको नाममा देखिएपछि उनी विवादित बन्न पुगेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments