
समता लघुवित्तको मंगलबार होटल क्लासिक, सिमरा बारामा सम्पन्न सातौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ सम्मको वितरणयोग्य नाफाबाट शेयरधनीलाई २०७७ आषाढ मसान्तमा कायम चुक्ता पुँजीको २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पूँजी १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँको २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने अनुमोदन गरेको हो ।
संस्थाको सातौं वार्षिक साधारण सभाले काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको घरेलु लघुवित्त वित्तीय संस्थासँग शेयर आदान प्रदान दर १००ः८० (घरेलु लघुवित्तको १०० कित्ता शेयर बराबर समताको ८० कित्ता) कायम हुनेगरी गााभ्ने/गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ । दुई लघुवित्तले २०७७ असार १ गते मर्जर सम्झौतामा हस्ताक्षर गरेकोमा साढे ६ महिनामा मर्जर सम्पन्न हुने अन्तिम चरणमा पुगेको हो ।
सभामा अध्यक्ष लिम्बुद्धारा आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन र संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले आर्थिक वर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन संस्थाका प्रबन्धक/कम्पनी सचिव विश्वराज श्रेष्ठले गरेका थिए ।
संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्वुको सभाध्याक्ष, जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमूख डा. कृष्ण प्रसाद पौडेलको प्रमूख आतिथ्य र आन्तरिक राजस्व कार्यालय, सिमरा, बाराका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारीको विशेष आतिथ्यतामा सातौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
- मंसिर समान्तसम्ममा १ करोड ८५ लाख खुद नाफा आर्जन
समता लघुवित्तले बारा जिल्ला, सिमरामा केन्द्रीय कार्यालय रही १० वटा जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु मार्फत ग्रामीण समुदायका विपन्न घरधुरीहरुलाई लक्षित गरी उनीहरुको जीवनस्तर उकास्ने कार्यमा लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।
लघुवित्तले मंसिर समान्तसम्ममा ३७ हजार ६५० सदस्यबाट ७० करोड ५१ लाख ८८ हजार रुपैयाँ बचत संकलन गरी १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा लघुवित्तले १ करोड ८५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
मर्जरपछिको राष्ट्रिय स्तरको कार्यक्षेत्र कायम हुने लघुवित्तले आव २०७७/७८ को अन्त्यसम्ममा ४४ हजार १६१ सदस्य विस्तार गरी ७७ करोड ८३ लाख ७४ हजार रुपैयाँ बचत संकलन तथा २ अर्ब ५१ करोड ५२ लाख ८० हजार रुपैयाँ कर्जा परिचालन गरी ९ करोड २८ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्ने लक्ष्य राखेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया