बेलायतले फाइभ–जी नेटवर्क विस्तारका लागि हुवावेको भूमिका स्वीकार गर्ने

0
Shares

बेलायतले फाइभ–जी नेटवर्क विस्तारका लागि मंगलबारदेखि चिनियाँ टेलिकम कम्पनी हुवावेको भूमिकालाई स्वीकार गर्ने भएको छ।

यद्यपि अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित सामर्थ्य विस्तार गर्नेगरी अनुमति दिइने प्राप्त सूचनाहरूमा उल्लेख गरिएको छ। संयुक्त अधिराज्यले फाइभ–जी नेटवर्क विस्तारसम्बन्धी महत्वपूर्ण निर्णय लिएको छ, संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन्।

फाइभ–जी नेटवर्क विस्तारका विषयमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई हुवावेलाई पूर्णरूपमा पाखा लगाउन वासिङ्टनले गरेको आग्रह र निरन्तर दवाबबीच यो निर्णय आएको छ।

तर बेलायतका वरिष्ठ अधिकारीले हुवावेको सेवा विस्तारका लागि सकारात्मक संकेत दिएका थिए भने बेलायती फाइनान्सियल टाइम्सले गत हप्ताको अन्त्यमा यसबारे सार्वजनिक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री जोनसनले हुवावे माथिको प्रतिबन्धित भूमिकालाई ‘स्वीकृति दिने अपेक्षा गरिएको’ समाचार प्रकाशित गरेको थियो।

आर्थिक दैनिकले बेलायती मन्त्रीहरूले हुवावेको बजार हिस्सामा नियन्त्रणको नीति लिइने बताएका थिए । यस बीचमा बेलायतले हुवावेलाई फाइभ–जीका सहायक प्रविधिजन्य एन्टेना र आधार स्टेसनहरूलाई पोल तथा छानाहरूमा जोड्न नदिनेजस्ता स्वतन्त्र तर व्यापक अनुमानहरू गरिएका थिए।

संयुक्त राज्य अमेरिकाले हुवावेको नियन्त्रण बेइजिङसँग रहने भन्दै उसको नयाँ पुस्ताको फाइभ–जी मोबाइल नेटवर्कहरूलाई विस्तार गर्ने विषयमा चासो व्यक्त गर्दै कडारूपमा असन्तुष्टि व्यक्त गर्दै आएको थियो।

 

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।