मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

0
Shares

पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताए। “उक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने छ”, उनले भने। उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताइएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

भोलि देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ र अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ।

  • म्याग्दीको हिमपात, उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौं पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् ।

धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ।

गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिए। यसअघि यही फागुन ९ गते हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको छ ।

विगतका भन्दा यो वर्ष धेरै पटक लगातार जसो हिउँ परेको छ । हिमपातका कारण विकास निर्माणका योजना कार्यान्वयन प्रभावित भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

गुर्जामा यो वर्ष गाउँपालिकाको नौ वटा, सङ्घीय सरकारको एउटा र प्रदेशको एउटा योजना छन् । योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको, सर्वेक्षण र डिजाइन गरिएको तर लगातारको हिउँले काम शुरु गर्न नसकिएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् ।

शुरु गरिएका योजनामा पनि निरन्तर काम हुन नसकेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । करिब साढे दुई सय घरधुरीको बसोबास रहेको गुर्जा गाउँ जाने बाटोमा हिउँ जमेपछि आवतजावत र ढुवानी ठप्प भएको छ।

रघुगङ्गा गाउँपालिकाको बेग–चिमखोला सडकमा हिउँ जमेर यातायातका साधन रोकिएका छन्। अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन नीलगिरि र नीलगिरि क्यासकेड जलविद्युत आयोजना प्रभावित भएका छन्।

मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म म्याग्दीमा सात पटक हिमपात भएको छ। नियमित वर्षा र हिमपातले हिउँदे बालीलाई भने राम्रो गरेको कृषकले बताएका छन्। हिउँ र वर्षाले जमीन चिसो बनाएर सिँचाइ हुने र खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने कृषि प्राविधिकको भनाई छ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार  १४ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।